आइतबार, पुष २८, २०८१
13:54 | १९:३९

बेलायती राजकुमार दाजुभाईको कलह सतहमा, कुटाकुटको आरोप

रासस -एपी जनवरी ६, २०२३

फोटो-बीबीसी

लण्डन, २२ पुस–राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलायतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन् ।

मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा उल्लेख गरेका छन् । बेलायती सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतिका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलायतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको संकेत गर्छ । यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिएका थिए ।

‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय संस्मरणमा समेटिएका छन् ।

केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङहम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै हयारीले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गरेका छन् ।

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाएका छन् । दाज्यूको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको, फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका छन् । आफू घाइेते भएपछि दाजुले क्षमा याचना गरेको पनि उनले संस्मरणमा लेखेका छन् ।

विश्वका १६ भाषामा प्रकाशन हुनुअघि पुस्तकको स्पेनी भाषाको प्रतिलिपि खरिद गरेको जनाउँदै एशोशिएटेड प्रेसले प्रस्तुत पुस्तकका आरोप राजपरिवारका निम्तिमात्र नभई घनिष्ट मित्रहरूका लागि पीडादायी हुनसक्ने जनाउँदै ह्यारी र शाही परिवारका अन्य सदस्यको जीवनबारेका विवरण उजागर गरेको छ ।

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको प्रसंग पनि संस्मरणमा समावेश छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू