लण्डनमा स्थापित दोश्रो पृथ्वी पुरस्कार डा. अहिराजलाई दिने घोषणा
लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष राजनीतिकशास्त्रका अध्येता डा. राजेश अहिराजलाई दिइने भएको छ ।
लन्डनमा ११ जनवरी बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी अन्तिम भइरहंदा अध्यक्ष क्षेत्रीले यसवर्ष अहिराजलाई एक लाख रुपैयांको पुरस्कार दिने घोषणा भएको जानकारी दिए ।
गत वर्ष प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीलाई पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको थियो ।
राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजिवीलाई उक्त पुरस्कार वर्षेनी प्रदान गरिने क्षेत्रीले बताए ।
यसैबीच, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आउंदो बुधबार गर्न लागेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको तयारी पुरा भएको छ ।
अध्यक्ष क्षेत्रीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल हुने पनि जनाएका छन् ।
हिमालयन क्लव सडबरी लन्डनमा दिउसो १२. ३० बजेदेखि हुने उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, वुद्धिजिवी तथा नेपालबाट पुरस्कृत व्यक्तित्व डा. अहिराज ‘भर्चुअल’ जोडिने क्षेत्रीले बताए ।
उनले कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा समेत गरेका छन् । अध्यक्ष क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् ।