आइतबार, पुष २८, २०८१
13:47 | १९:३२

यूके सिजनल भिसा आवेदकमाथि ठगी गर्न दूतावासको लेटरहेड र छाप दुरुपयोग

नेपाली लिङ्क जनवरी ५, २०२३


लन्डन। बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने एजेन्ट/ कम्पनीबाट लन्डनस्थित नेपाली दूतावासको नाम दुरुपयोग भएको पाइएको छ ।

दूतावासका नाममा गलत वक्तव्य प्रकाशित गरी लेटरहेड, छाप र दस्तखत समेतको दुरुपयोग गरिएको दूतावासले जनाएको छ।  

दूतावासले विहीबार एक वक्तव्य जारी गर्दै आफ्नो लेटरहेड, छाप र दस्तखत अनाधिकृत रुपमा प्रयोग गरी सूचना निकालिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

गत पौष १८ गतेका दिन ‘यूके सिजनल भिसा मिति परिवर्तनबारेमा’ भन्दै दूतावासको लेटरहेड, छाप र दस्तखतसहितको एक फर्जी सूचना प्रकाशित भएको थियो ।

उक्त सूचनामा सन् २००२२ का लागि भिसा आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरुको अन्तरवार्ता सन् २०२३ को दोस्रो महिनाको दोस्रो हप्ताबाट सुचारू हुने उल्लेख थियो।

साथै, भिसाको अवधि ८ महिनाको हुने र कार्य क्षेत्रको मौसमअनुसार अन्तरवार्ताको मिति फेरि परिवर्तन हुन सक्ने गलत सूचना पनि वक्तव्यमा थियो।  

दूतावासले सिजनल भिसाका सम्बन्धमा आफूले कुनै पनि सूचना जारी नगरेको स्पष्ट पारेको छ ।  

दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसकेपनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको आशंका दूतावासको छ । 

‘आवेदकहरुलाई गलत सूचना दिएर ठगी गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने नियतमा दूतावासको लेटरहेड र छाप दुरुपयोग भएको देखिन्छ’, दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले नेपाली लिंकलाई भने, ‘यो गलत र भ्रामक सूचनाबारे सचेत रहनुहुन हामी सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

उनले यस कार्यमा संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको पनि जानकारी दिए।

दूतावासको वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू