सोमबार, पुष २९, २०८१
18:37 | ००:२२

बेलायतका अस्पताललाई विरामीको चाप थेग्न कठिन

नेपाली लिङ्क जनवरी ५, २०२३

लन्डन । जाडो बढेसंगै बेलायतले फेरि स्वास्थ्य संकट सामना गरेको छ । 

नेशनल हेल्थ सर्भिस् (एनएचएस) इंग्ल्याण्ड अधिकारीहरुले यही अवस्थामा विरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएका छन् । 

सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रष्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीले जनाएको छ । संकटको अर्थ उनीहरु पूर्ववत अवस्थामा विरामीको उपचार गर्ने सामथ्र्यमा छैनन् ।

केही अस्पतालका ए एण्ड इ (एक्सिडेन्ट तथा इमर्जेन्सी) विभाग संकटग्रस्त अवस्थामा पुगेको रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले जनाएको छ ।

रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन (आरसीइएम) का अध्यक्ष डा. एड्रियन बोयलले समयमै आपतकालिन उपचार नहुंदा सातामा तीन देखि ५ सय विरामी मरिरहेको दावी गरेका छन् । यूकेको ‘ए एण्ड इ’ विभागमा गुणस्तर निगरानी गर्ने आरसीइएमले ‘ए एण्ड इ’ ले अहिलेसम्मकै खराव अवस्था र विरामीले सबैभन्दा बढी समय कुर्नपरेको उल्लेख गरेको छ ।

६ सातायता ए एण्ड इ आउने विरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले  ब्रिटेनमा गत महिनाको तुलनामा यो महिना फ्लुका कारण अस्पताल भर्ना हुने बिरामीहरुको संख्या सात गुणा बढेको जनाएको छ। 

पछिल्लो तथ्यांकका अनुसार गत साता अस्पतालहरुमा फ्लु बाट पीडित ३ हजार ७ सय ४६ जना बिरामी भर्ना भएका थिए, जसमध्ये २६७ जनाको स्थिति गम्भीर थियो। एक महिना पहिले फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ५२० मात्रै थियो।

गत सात दिन यता फ्लुका कारण भर्ना हुने बिरामीहरुको संख्यामा ८० प्रतिशतले वृद्धि भएको  एनएचएसले जनाएको छ।

यसै गरी अस्पतालहरुमा उपलब्ध प्रत्येक १० बेड मध्ये ९ ओटा बेड भरिएको पनि जनाइएको छ।

फ्लुका कारण एनएचएसका हजारौं कर्मचारीले आकस्मिक बिदा लिएका छन्। 

एनएचएसका राष्ट्रिय चिकित्सा निर्देशक प्रा. सर स्टेफेन पावेलले भने, ‘हामीले दुःख साथ भन्नुपर्छ कि कोभिड प्रभावित बिरामीको संख्या बढिरहेका बेला फ्लुबाट पीडित बिरामीको संख्या पनि बढेकाले हामी दोहोरो दबाबमा परेका छौं ।’

उनले योग्य मानिसहरुलाई कोभिड र फ्लु विरुद्धको निशुल्क खोप लगाउन जति सक्दो चाडो लगाउन पनि आग्रह गरे ।

एनएचएस कन्फेडेरेसनका प्रमुख म्याथ्यू टेलरले स्काइ न्यूजसंग कुरा गर्दै भनेका छन्, ‘म एनएचएस नेताहरुसंग दिनहुं कुराकानी गरिरहेको छु । तिमध्ये सबैले जाडोमा अहिलेसम्मकै खराव अवस्था भोग्नु परेको छ र यही अवस्था सामना गर्न सकिंदैन भनेका छन् ।’ 

सोसाइटी फर एक्यूट मेडिसिनका अध्यक्ष डा. टिम कुकस्लेले एनएचएसले कोभिड महामारीभन्दा खराव स्थिति भोग्नु परेको उल्लेख गर्दै कडा कदम चाल्न सरकारसंग आग्रह गरेका छन् ।

विगत २६ वर्षदेखि एनएचएसमा आवद्ध चिकित्सक डा. सुनिल शाह यो नयां नभइ वर्षेनी आउने समस्या भएको बताउंछन् ।

‘बेलायतमा वृद्धवृद्धा जनसंख्या धेरै छ । बुढाबुढी अस्पतालमा आइसकेपछि पूर्ण निको नभएसम्म घर पठाउन नमिल्ने हुंदा अस्पतालका बेड भरिभराउ भइरहेका छन्’, शाहले भने । 

मिड योर्कसायर हस्पिटल ट्रष्ट र लिड्स टिचिङ हस्पिटल गरि दुई अस्पतालमा कार्यरत ओरल एण्ड म्याक्सिलो फेसियल सर्जन कन्सलटेन्ट डा. शाह आफ्नो अस्पतालमा बेड अभावमा गत साता बिहीबार र शुक्रबार क्यान्सरबाहेक सबै अपरेशन रद्द भएको बताउंछन् ।

पर्व र बढ्दो जाडोका कारण विशेष गरि डिसेम्बर र जनवरीमा एनएचएसमा बढी चाप देखिने जनाउंदै शाहले केही महिनाका लागिमात्र थप बेड थप्न सरकारलाई पनि व्यवहारिक नहुने जनाए ।

उता, सेन्ट जोर्जेज हस्पिटलको कार्डियाक इन्टेन्सिभ केयर युनिटमा विगत ११ वर्षदेखि कार्यरत नर्स रिमा कंडेल पनि आफ्नो अस्पतालमा चाप बढिरहेको बताउंछिन् । 

विरामीको चाप धेरै बढेर अपरेशनहरु धमाधम रद्द भएका उनले सुनाइन् । ‘विरामीको स्वास्थ्य अवस्था प्राथमिकतामा राखेर उपचार गर्दा रुटिङ अपरेशन क्यान्सिल भइरहेको अवस्था छ’, उनले भनिन् । यसले अपरेशनका लागि कुर्ने समय निकै बढेको उनले बताइन् । 

बेलायतको लिवरल डेमोक्रेटिक पार्टीले वीन्टर प्रेसर समाधानका लागि संसद बोलाएर आपतकालिन स्वास्थ्य योजना ल्याउन र राष्ट्रिय प्रमुख घट्ना घोषणा गर्न माग गरेको छ ।

सरकारले भने एनएचएस चाप बढिरहेको स्वीकार्दै आउंदो दुई वर्षका लागि हेल्थ एण्ड सोसल केयरमा १४ दशमलव १ बिलियन पाउण्ड अतिरिक्त कोष विनियोजन गरिएको जनाएको छ । अस्पताल डिस्चार्ज तीव्र बढाउन थप ५ सय मिलियन पाउण्ड प्रदान गरिएको पनि सरकारको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू