सोमबार, पुष २९, २०८१
19:00 | ००:४५

बेलायतको वेल्समा ‘नेपाली गाउं’ बनाउन २४ एकर जग्गा खरिद

नेपाली लिङ्क जनवरी ४, २०२३

लन्डन । बेलायतको वेल्स राज्यमा नेपाली गाउं बनाउन नेपालीले संयुक्त लगानीमा २४ एकर जग्गा खरिद गरेका छन् ।

नेपाली भिलेज यूकेले नेपाली गाउं बनाउने महत्वकांक्षी परियोजनाका लागि चार बेडरुम घरसहितका संरचनाहरु रहेको २४ एकर (लगभग १९० रोपनी) जग्गा खरिद गरेको हो । सो को मूल्य ९ लाख ४० हजार पाउण्ड (करिब १६ करोड रुपैयां) छ ।

उक्त घरजग्गा वेल्सस्थित ब्रेकन टाउनबाट ८ माइलको दूरीमा छ । परियोजनामा हालसम्म २२७ जना शेयरधनी छन् ।

सोलिसिटरहरुको रोहवरमा सम्पूर्ण रकम भुक्तानीपछि ४ जनवरी बुधबार जग्गाधनीबाट चाबी लिइएको छ ।

स्थानीय मेयर डेविड मरिडीडको उपस्थितिमा जग्गाधनी र नेपाली भिलेज यूकेका तर्फबाट परियोजना प्रमुख डाइरेक्टर रिटायर्ड मेजर खुशीमान गुरुङ एवं केही डाइरेक्टरबीच घरको चाबी बुझ्दै कागजातहरुमा हस्ताक्षर आदानप्रदान भएको छ ।

परियोजना प्रमुख निर्देशक रिटायर्ड मेजर खुशीमान गुरुङ दम्पतिले नेपाली परम्परागत वैदिक तरिकाले दीप कलशको पूजाआजा गर्दै घरको चाबी बुझेका थिए ।

लगातार ६० वर्ष भोगचलन गर्दै आएकी घरधनीले घरको चाबी हस्तान्तरण गर्दा निकै भावुक हुंदै नेपाली भिलेज यूकेको परियोजनाबारे थाहा पाएपछि आफ्नो घर जग्गा दिएको र यसले निकै खुशी तुल्याएको बताइन् ।

उक्त अवसरमा परियोजना प्रमुख गुरुङले सम्पूर्ण शेयरहोल्डर, डाइरेक्टर साथै यससंग जोडिएको सबैलाई केवल परियोजनाबारे कल्पना गरेको एक वर्षमा नै सोचे जस्तै जग्गा किन्न सफल भएकोमा बधाई तथा धन्यवाद दिए ।

उनले आउंदो मे २१ तारीखमा वार्षिकोत्सव मनाउने पनि जनाए । गुरुङले जग्गा वरपरका छरछिमेक र स्थानीयसंग सौहार्दपूर्ण सम्वन्ध कायम गर्दै सहमति र सहकार्य गर्न सहज होस् भन्ने हेतुले आगामी मार्च २६ 
तारिख अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

नेपाली भिलेज यूकेको पहिलो चरणको सफलता पछि परियोजनाका हरेक सदस्य अत्यन्त उत्साहित देखिन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू