तमु प्ये ल्हु संघ यूकेले यसरी मनायो ल्होसार
लन्डन। तमुहरुको महान पर्व ल्होसार तमु प्ये ल्हु संघ यूकेले पनि मनाएको छ ।
संघले हरेक वर्ष डिसेम्बर ३० मा ल्होसार मनाउँदै आएको परम्परालाई निरन्तरता दिंदै गत शुक्रबार लन्डनको ह्यारो लिजर सेन्टरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको शुरुमा खेगी गुरुहरुद्वारा विशेष पूजा गरिएको थियो।त्यसपछि गुरुहरुद्वारा ‘रिप’ र ‘पैरो’ लगाउने कार्यक्रम भएको थियो ।
संघका अध्यक्ष रनबहादुर टु क्ल्हेप्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सहभागी थिए।
प्रमुख अतिथि राजदूत आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै ल्होसारको शुभकामना दिएका थिए। उनले बेलायतमा मौलिक संस्कृति, रीतिरिवाज जगेर्नामा तमुहरुको प्ये ल्हु संघको योगदान प्रशंसायोग्य रहेको बताएका थिए।
संघका अध्यक्ष रनबहादुर टु क्ल्हेप्रीले कार्यक्रममा सहभागी हुने तथा सफल पार्न सहयोग गर्ने सबैप्रति संस्थाको तर्फबाट आभार प्रकट गरे ।
सोही अवसरमा बेलायतका विभिन्न युनिभर्सिटीबाट ग्र्याजुएसन गर्नेहरुलाई राजदूत आचार्यको हातबाट अवार्ड वितरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव भवन चाह्म्रु तमुले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो जसको सञ्चालन अनिता प्ल्हें तमु, ओम थिम्चे, सिर्जना चाह्म्रु र दुर्गा योज तमुले गरेका थिए।
कार्यक्रममा अतिथिको रुपमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।