सोमबार, पुष २९, २०८१
18:51 | ००:३६

तमुधिं यूकेले मनायो ल्होछार, नयाँ टीमको पदभार ग्रहण र कम्युनिटी अवार्ड वितरण

नेपाली लिङ्क जनवरी ४, २०२३

लन्डन । तमुधिं यूकेले वर्षेनी मनाउँदै आएको तमु ल्होछार एक विशेष कार्यक्रमसहित मनाइएको छ ।  

गत शनिबार अल्डरसटको एम्पाएर हलमा विविध कार्यक्रमसहित तमुहरुको नयाँ ल्होछार मनाइएको हो।

संस्थाका अध्यक्ष हित काजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा विशेष अतिथिमा उपनियोग प्रमुख प्रमुख श्रीमती रोशन खनालसहित विभिन्न संघ संस्थाका अध्यक्षहरु,  गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु, काउन्सिलरहरु, धर्मगुरुहरु, संस्थाका ट्रस्टीहरु, भूपू अध्यक्षहरु, मिडियाकर्मीहरुको लगायत आजीवन सदस्यहरु तथा गैर तमु नेपालीहरु समेतको उल्लेख्य उपस्थिति थियो ।

प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथि उपनियोग प्रमुख श्रीमती रोशन खनाल, अध्यक्ष हित काजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूह अध्यक्ष मञ्जु सीता गुरुङ, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, संस्थाका नवनिर्वाचित अध्यक्ष हरि गुरुङ लगायतबाट संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।

नेपाल, बेलायत र तमुहरुको राष्ट्रिय गान गुन्जिरहंदा कलाकारहरु र साना नानीहरु मौलिक पहिरनमा स्टेजमा उभिएको क्षणले कार्यक्रमस्थलमा गौरवको आभास गराएको थियो ।

सो अवसरमा प्रत्येक वर्ष प्रकाशन गरिने तमुधिं यूकेको मुखपत्र ‘फ्रेंसी’ को विमोचन गरिएको थियो ।  

बेलायतवासी तमु समुदायभित्रका अब्बल विद्यार्थीलाई दिइने स्व डा. हर्क अवार्ड यसपटक सुश्री स्मृति गुरुङले हात पारिन् । उनी मोतीप्रसाद गुरुङ र लक्ष्मी गुरुङका कान्छी सुपुत्री हुन् । स्मृतिले वालिङफोर्ड स्कुलबाट ‘जेनरल सर्टिफिकेट अफ सेकेन्डरी ऐज्यूकेसन’ मा ११ वटा ‘ए स्टार’ प्राप्त गरेकी थिइन्।

तमुधिं यूकेका इकाईहरुमा दिएको उल्लेखनीय योगदान कदर गर्दै ‘कम्युनिटी सर्भिस अवार्ड’ लन्डन ईकाइबाट विकास गुरुङ र देवकला गुरुङ, ह्याम्प्शायर ईकाइबाट भुवानीप्रसाद गुरुङ बीईएम, साउथ इष्ट ईकाइबाट मायारानी गुरुङ र मनिता घले तथा चार भञ्ज्याङ तमु समाजबाट लक्ष्मी गुरुङ र शान्ति गुरुङलाई प्रदान गरियो। प्रमुख अतिथि राजदूत आचार्य र अध्यक्ष गुरुङको हातबाट अवार्ड वितरण गरिएको थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले विदेशी भूमिमा रहेर पनि आफ्नो मातृभूमिको संस्कार, संस्कृति भेषभुषाको संरक्षण र सम्बर्धन गर्ने प्रयास गरेको र सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई समेटेर नेपाली मेला, गोर्खा कपजस्ता बृहत् भेलाहरु सफलताका साथ सम्पन्न गरेको तमुधिं यूकेले सराहनीय काम गरेको उल्लेख गरे। 

श्रीमती मायारानी गुरुङ (८२) र लक्ष्मी गुरुङ (८४) ले आफ्नो इकाई र तमुधिं यूकेलाई पुर्‍याएको योगदानस्वरुप सम्मानित भएकोमा राजदूत आचार्यले प्रशंसा गरेका थिए।

त्यस अवसरमा गत डिसेम्बर २६ तारिख सम्पन्न १२औ अधिवेशनद्वारा निर्वाचित तमुधिं यूकेको नयां कार्यसमिति र निवर्तमान कार्यसमितिबीच कार्यभार हस्तान्तरण गरिएको थियो ।

कार्यभार हस्तान्तरणपछि निवर्तमान अध्यक्ष हित काजी गुरुङले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गर्दै नवनिर्वाचित अध्यक्ष हरि गुरुङको टीमलाई पनि सहयोग गरिदिन सबैलाई आग्रह गरे। दुई वर्षे कार्यकालमा संस्थाको भलो चिताएर आफ्नो विवेक र क्षमताले भ्याएसम्म काम गर्ने कोशिश् गरेको भन्दै उनले काम गर्ने क्रममा कुनै गल्ती भएको भए क्षमायाचना गरे।  

उनले प्रत्येक कार्यक्रमहरुमा प्रायोजन गर्ने व्यवसायीहरु, आमा समूह तथा इकाईका सदस्यहरु, कार्यसमिति र आफूलाई निरन्तर सहयोग गरिरहने श्रीमती सीता र छोरीलाई पनि धन्यवाद दिए।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा कार्यसमिति र आमा समूहको सहकार्यमा सम्पन्न २२औं ल्होछार कार्यक्रममा हल खचाखच भरिएको थियो।

कार्यक्रममा कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकत्वमा रमाइला नृत्यहरु प्रस्तुत भएका थिए। तमुधिं इकाईहरुबाट गरिएकोस्थानिय नृत्यहरुको प्रस्तुति धेरैले मन पराएका थिए। लन्डन इकाई, रिडिङ तमु समाज, घान्द्रुक समाजको प्रस्तुति विशेष रुचाइएको थियो ।

नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङले गुरुङ तथा नेपाली भाषाका लोकभाका अनि दोहोरी गीतको बेजोड प्रस्तुति गरेका थिए भने नायिका लक्ष्मी गुरुङको नृत्यले कार्यक्रमको रौनक झन् थपेको थियो । सूर्य गुरुङ, विभा गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङको उद्घोषणले कार्यक्रममा मिठास भरेको थियो।

कार्यक्रमको अर्को आकर्षण भाग्योदय चिठ्ठा थियो जसमा पहिलो पुरस्कार एक तोला सुन र दोस्रो आधा तोला थियो । न्यू लक्ष्मी ज्वेलर्सका प्रबन्धक श्रीमती लक्ष्मी राई र पेपरवर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठले क्रमशः एकतोला र आधा तोला सुन प्रायोजन गरेका थिए । चिठ्ठाको पहिलो पुरस्कारस्वरूप लमजुङ समाजका निवर्तमान अध्यक्ष विश्वजंग गुरुङले एकतोला सुन हात पारे ।

१५ पाउन्डमा खानासहित र आजीवन सदस्यहरुलाई निशुल्क प्रवेश व्यवस्था गरिएको यो भब्य कार्यक्रमलाई धेरैले प्रशंसा गरेका थिए ।

ठीक मध्यरातमा स्याम्पेन खोलेर अंग्रेजी नयाँ वर्षलाई  स्वागत गरी कार्यक्रम समापन भएको थियो ।

यस कार्यक्रममा एम्प्यायर हलका प्रबन्धक पुरन गिरीले खाना व्यवस्था गरेका थिए भने साउन्ड सिस्टम सपन इन्टरटेनमेन्टका सपनकुमार राईको थियो ।  कार्यक्रमको भिडियोग्राफी मिडिया सेक्रेटरी एसके गुरुङ र फोटोग्राफी गोर्खा मिडियाका प्रबन्धक मिलन तमुले गरेका थिए । – एसके गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू