सोमबार, पुष २९, २०८१
18:29 | ००:१४

बीसीसी यूकेले विविध कार्यक्रमका साथ मनायो ल्होछार

पूर्ण गुरुङ डिसेम्बर ३१, २०२२

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ । ३० डिसेम्बर शुक्रबार अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार ल्होछार मनाइएको हो। 

सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गेयोन्तेन ग्यात्सो गुरुङको विशेष उपस्थितिमा मनाइएको उक्त ल्होछार पर्वमा बीसीसी यूके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पोटासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गरेका थिए। साथै, पूजाको अन्त्यमा सहभागी भक्तजनहरुलाई टुल्कु साङ्गेले आयूको वाङ्ग (अभिषेक) दिए ।

तमुधिं यूके पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्थितिमा सम्पन्न उक्त पूजामा विभिन्न व्यक्तिले दुईहप्ता अघिबाट बत्ती बाल्न, छोक दान र भोजनदानका लागि भाइबर ग्रुपमार्फत आ–आफ्नो नाम दर्ता गराएका थिए । 

बाघ बर्गको विदाई र बिरालो बर्गको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा तमुधिं यूकेले गुम्बा परिसरभित्र नयाँ लुङ्दा समेत फेरेको थियो ।

सो अवसरमा तमुधिं यूके ११ औं कार्यसमितिका अध्यक्ष हित काजी गुरुङ, नवनिर्वाचित १२औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्यसमिति पदाधिकारी, सल्लाहकार एवं तमुहरुको उल्लेख्य उपस्थिति थियो ।

उक्त कार्यक्रममा बीसीसी यूकेले हालै ट्रष्टी मेम्बर बनेका नयाँ सदस्यहरुलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । त्यस्तै, बीसीसी यूकेका कर्मचारी र स्वंयसेवकहरुले गरेको कामको प्रसंशा गर्दै खादा लगाई धन्यवाद दिइयो ।

कार्यक्रममा नयाँ ल्होबाट सबैको ग्रह शान्ति होस् भन्ने उद्देश्यका घ्यासी पूजा र सम्पूर्ण मानवजातिको सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धिका लागि आयु पूजा गरिएको थियो । बीसीसी यूकेको तर्फबाट अध्यक्ष धर्म तामाङ र बीसीसी यूके आमाहरुको तर्फबाट आमा अध्यक्ष उर्मिला गुरुङले श्रद्धेय टुल्कु गुरुङलाई मण्डला चढाएका थिए ।

कार्यक्रममा सिक्किमबाट आएका टुल्कु गुरुले बौद्ध धर्ममा पञ्चशीलको महत्वबारे जानकारी गराउँदै बौद्ध धर्मले मानव जीवनमा खेल्ने भूमिका सम्बन्धमा पनि चर्चा गरेका थिए ।

कार्यक्रममा बीसीसी यूके अध्यक्ष धर्म तामाङले बीसीसी यूकेले गुम्बाबाट प्रवाह गरिने विभिन्न सेवाबारे जानकारी गराउंदै बीसीसी यूकेको अनुरोधमा सिक्किमबाट तमु ल्होछारका लागि सहभागी भैदिएकोमा आभार व्यक्त गरे । 

तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले टुल्कु गुरुको स्वागत गर्दै तमु ल्होछारको शुभकामना दिएका थिए ।

बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले औपचारिक कार्यक्रम संचालन गर्दै सिक्किमबाट आएका टुल्कु गुरुको बारेमा जानकारी गराएका थिए । उनले तमु ल्होछारका लागि भोजनदान गर्ने दानवीरहरुको नामावली प्रस्तुत गर्दै सबैलाई धन्यवाद दिए ।

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूके अध्यक्ष धर्म तामाङ, आमा अध्यक्ष उर्मिला गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ र नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, वर्तमान उपाध्यक्ष  आङ्गदावा शेर्पा, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङ, मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङ, गुम्बाका धर्मगुरुहरु, सहयोगी गुरुहरु, गुम्बाका कर्मचारी, स्वयंसेवक, शुभचिन्तक, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, ट्रष्टीजहरुलगायत आमाहरुले विशेष भूमिका खेलेका थिए ।

बिहान ८ बजेदेखिनै बेलायतका विभिन्न स्थानबाट ल्होछारको अवसरमा बत्ती बाल्न, पूजा र गुम्बाले आयोजना गरेको घ्यासी पूजामा सहभागी हुन भक्तजनहरु आएका थिए ।

बीसीसी यूके अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गरे । 

स्मरण रहोस्, करिब १ महिनाका लागि बेलायत आएका टुल्कु गुरुले शनिबार तमु धिं यूकेले अल्डरसटमा आयोजना गरेको तमु ल्होछार कार्यक्रममा बिशेष सहभागी जनाउने छन् । त्यस्तै, संखुवासभा तमु समाज, बुद्धिष्ट गुम्बा रेडिङ र खोसोभो गुरुङ समाजले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । 

बीसीसी यूके लण्डन शाखा, तमु धिं यूके लण्डन ईकाई, मञ्जुश्री मनीमलम तमु आमा संघ केन्ट, बुद्धिष्ट कम्युनिटी स्वीन्डन, डाइमण्ड बुद्धिष्ट सेन्टर, बागशीला बासपानी समाज, शेर्पा एशोसिएसन यूकेलगायत संघसंस्थाहरुले आयोजना गर्ने ल्होछार, विभिन्न पुजापाठ, ग्रहशान्ति तथा प्रवचनमा सहभागी रहने बीसीसी यूके उपाध्यक्ष रोविन गुरुङले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू