बेलायती राजाबाट नेपालीले पाए उच्च पदक
लन्डन । बेलायतस्थित एकजना समाजसेवी तथा व्यवसायी महन्त श्रेष्ठले राजा चार्ल्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीइ) पदवी पाएका छन् ।
अंग्रेजी नयां वर्षमा दिइने विभिन्न पदवी अन्तर्गत श्रेष्ठले ओबीइ पाएका हुन् । आउंदो जुनमा एक समारोहबीच उक्त पदक दिइने छ ।
कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति उक्त विशिष्ठ पदवी दिइन्छ ।
यस वर्ष करिब ११ सय जनाले यस्तो पदवी पाएका राजपरिवारको आधिकारिक पत्रिका लन्डन गजेटमा उल्लेख छ ।
‘मलाई करिब तीन साताअघि क्याबिनेटबाट खवर आएको थियो । मेरो निस्वार्थ सेवा मूल्यांकन गरेर बेलायती राजाको बाहुलीबाट यस्तो उच्च पदवी पाउनु मेरो जीवनकै उच्च उपलब्धि ठानेको छु’, श्रेष्ठले भने ।
उनले बेलायतको नेपाली समुदाय र नेपालका लागि आफ्नो समर्पण झन् बढी हुने अठोट पनि व्यक्त गरेका छन् ।
श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) पनि हुन् ।
सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ इलिङस्थित मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् ।
श्रेष्ठ रेष्टुरेन्ट व्यवसायसंगै लन्डनमा बियर उत्पादन र प्रोपर्टीमा पनि संलग्न भए । पार्टनरसीपमा सन् २००३ देखि खुकुरी बियर उत्पादन गरेर सन् २००७ देखि उनी एक्लैले यो व्यवसाय सञ्चालन गरेका छन् ।
यूके नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष श्रेष्ठको काठमाडौं ठमेलमा तारे होटल पनि चालु छ ।
एनआरएनए यूकेको संस्थापक अध्यक्ष, पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् ।
ओवीइ पदक यसअघि डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धितालले पाइसकेका छन् ।