सोमबार, पुष २९, २०८१
18:56 | ००:४१

पूर्व गोर्खाका छोरा किरण अझै भेटिएनन्, हत्या आशंकामा ५ पक्राउ

नेपाली लिङ्क डिसेम्बर ३०, २०२२


लन्डन। बेलायतमा बेपत्ता भएको एक महिना हुनै लाग्दा समेत पूर्व गोर्खा पुत्र किरण पुन अझै भेटिन सकेका छैनन् । 

१ डिसेम्बरदेखि अल्डरसटबाट हराइरहेका किरणको खोजीमा जुटेको बेलायती प्रहरीले उनको हत्या आशंकामा हालसम्म पाँच जनालाई पक्राउ गरिसकेको छ।

पछिल्लोपटक विहीबार प्रहरीले फार्नबरोबाट तीन जनालाई पक्राउ गरेको छ । १७ वर्ष, २० वर्ष र  २१ वर्ष उमेरका जम्मा तीन पुरुषलाई पक्राउ गरिएको ह्याम्पशायर प्रहरीले जनाएको छ ।  

यसअघि किरणको हत्या आशंकामै पक्राउ परेका अन्य दुई जना भने धरौटीमा छुटिसकेका छन्।

डिटेक्टिभ चिफ इन्स्पेक्टर एडम एडवार्डले किरणको अवस्था पत्ता लगाउन प्रहरीले कडा मेहनत गरिरहेको बताए । किरण बेपत्ता बनेको अल्डरसट र आसपासका क्षेत्रमा खोजी जारी राखिएको उनले जनाए। 

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएका थिए । त्यसयता उनी बेपत्ता छन् ।

किरण ५ फिट ८ इन्च अग्ला उनको पातलो जीउ, कालो छोटो कपाल, खैरो आंखा र चिउंडोमा दाग रहेको प्रहरीले बताएको छ ।

प्रहरीले किरणलाई देखे वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेको छ । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू