बीसीसी यूकेको तमु ल्होछार तयारी
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ ।
उक्त ल्होछार शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार मनाउन लागिएको हो ।
सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गे योन्तेन ग्यात्सो गुरुङको बिशेष उपस्थितिमा मनाउन लागिएको ल्होछार पर्वमा बीसीसी यूके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पो टासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गर्नेछन् ।
साथै, पूजाको अन्त्यमा आयुको वाङ (अभिषेक) दिइने बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए ।
तमुधिं यूकेका पदाधिकारी एवं सदस्यहरुको बिशेष उपस्थितिमा सम्पन्न हुन लागेको उक्त पूजामा बत्ती बाल्ने, छोक दान र भोजनदान गर्न चाहने इच्छुक भक्तजनहरुले बीसीसी यूकेले सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
बाघ बर्गको बिदाई र बिरालो बर्गको स्वागतार्थ आयोजना गर्न लागिएको कार्यक्रममा तमुधिं यूकेले गुम्बा परिसरभित्र नयाँ लुङ्दा समेत फेर्ने भएको छ ।
पूजामा सहभागी हुन बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा बीसीसी यूकेले अनुरोध गरेको छ ।
स्मरण रहोस्, बीसीसी यूकेले बेलायतमा रहेका शेर्पा, तामाङ, गुरुङलगायत जातजातीहरुको विशेष पर्वलाई महत्वका साथ मनाउँदै आएको छ । सोही क्रममा तमु ल्होछार मनाउन लागिएको हो । –पूर्ण गुरुङ