सोमबार, पुष २९, २०८१
19:03 | ००:४८

शुक्रबार साउथ इष्ट लन्डनमा ल्होछार उत्सव

नेपाली लिङ्क डिसेम्बर २८, २०२२

लन्डन। साउथ इष्ट लन्डनको प्लमस्टिडमा यही शुक्रबार नेपाली सांस्कृतिक पर्व ल्होछार उत्सव हुने भएको छ।  

साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा स्थानीय एशियन कम्युनिटी सेन्टरमा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाइने भएको हो।

उक्त अवसरमा नेपालबाट आएकी लोकदोहोरी गायिका भूमिका गिरीले सांगीतिक प्रस्तुति गर्ने भएकी छन्। त्यस्तै, शेखर घर्ती मगर र शशी गुरुङले आकर्षक नृत्य देखाउनेछन्।

कार्यक्रममा साउथ इष्ट रिजनल तमुधिं लन्डनका सदस्यहरुद्वारा पनि विभिन्न मौलिक गीत तथा नृत्यको प्रस्तुति गरिनेछ।

संस्थाका अध्यक्ष ह्यारी गुरुङले सांस्कृतिक पर्व ल्होछार विगतका वर्षहरुमा जस्तै विशेष कार्यक्रम गरी मनाइन लागेको बताए। कार्यक्रमले समुदायमा एकता, भाइचारा बढाउनका साथै तमुहरुको मौलिक परम्परा र संस्कृति प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने आशा उनले व्यक्त गरे।  

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायका प्रतिनिधिहरु पनि अतिथिको रुपमा निम्त्याइएका अध्यक्ष गुरुङले जानकारी दिए।

कार्यक्रममा आकर्षक पुरस्कारसहित राफल ड्र पनि गराइँदैछ। जसमा पहिलो पुरस्कारस्वरुप हाइब्रिड साइकल वुल्लीच आर्सनल राइडर (वार) क्लबले प्रायोजन गरेको छ।  

अपरान्ह साढे चार बजे शुरु हुने कार्यक्रम राती साढे १० बजे समापन हुनेछ। 

ल्होछार उत्सवमा सहभागिताका लागि आयोजक साउथ इष्ट रिजनल तमुधिं लन्डनले बेलायतवासी समस्त नेपालीहरुलाई आव्हान गरेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू