चीन र भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक
काठमाडौं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ ।
मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए ।
उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । “चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ”, उनले भने, “भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।”
नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो ।
मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ ।
नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । हिजो पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५