बेपत्ता नेपाली युवाको खोजी गर्दै प्रहरी र नेपाली समुदाय अल्डरसट जंगलमा
लन्डन । बेलायतको अल्डरसटबाट गत १ डिसेम्बरदेखि हराइरहेका एक नेपाली युवाको खोजी कार्यमा प्रहरी र नेपाली समुदाय जुटेको छ ।
आइतबार अल्डरसट नजिकको जंगलमा चारजना प्रहरीसहित परिवारजन, एम्सबरी नेपाली कम्युनिटी, ग्रेटर रसमुर नेप्लिज कम्युनिटी र एनआरएनए यूके पदाधिकारी खोजीमा जुटे ।
प्रहरीले अनुसन्धानका क्रममा अल्डरसटस्थित नेपालीका केही घर समेत खानतलासी गरेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए । उनले प्रहरीको खोजी कार्यमा आफ्ना तर्फबाट सक्दो सहयोग गरिने पनि बताए । थप जनशक्ति जुटाउन परे एनआरएनए यूकेले आफ्ना सदस्यहरु परिचालन गर्ने पनि गाहामगरले बताए ।
हयाम्पसायर तथा आइल अफ वाइट प्रहरीले गत शुक्रबार किरण पुनको हत्या आशंकामा ३६ वर्षीय एकजनालाई अल्डरसटबाट पक्राउ समेत गरेको छ ।
बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएका थिए । त्यसयता उनी बेपत्ता छन् ।
५ फिट ८ इन्च अग्ला उनको पातलो जीउ, कालो छोटो कपाल, खैरो आंखा र चिउंडोमा दाग रहेको प्रहरीले बताएको छ ।
प्रहरीले किरणलाई देखेका वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेका छन् । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ ।
प्रहरीको अपिल