सोमबार, मंसिर १०, २०८१
17:53 | २३:३८

युक्रेनलाई नयाँ हतियार पठाए द्वन्द्व चर्किने मस्कोको चेतावनी

रासस/सिन्ह्वा डिसेम्बर २१, २०२२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्बिर एएफपी

मस्को, ६ पुस -युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले भने, “यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो संकेत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन ।”

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार नै वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले मङ्गलबार र युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वयंले बुधबार मात्र भ्रमण कार्यक्रमबारे पुष्टि गरेकी छन् । पियरेले एक विज्ञप्ति जारी गर्दै भनिन्, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिवद्धतालाई दर्शाउनेछ ।”

जेलेन्स्कीले बुधबार ट्वीटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमता मजबुत बनाउन म अमेरिका जाँदैछु ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू