सोमबार, पुष २९, २०८१
18:40 | ००:२५

बेलायतमा एम्बुलेन्स कर्मचारीद्वारा हड्ताल, स्वास्थ्यक्षेत्र अस्तव्यस्त

नेपाली लिङ्क डिसेम्बर २१, २०२२

लन्डन – बेलायतमा कार्यरत एम्बुलेन्स कर्मचारीद्वारा बुधबार गरिएको हड्तालका कारण स्वास्थ्यक्षेत्र अस्तव्यस्त बनेको छ । तलव वृद्धि गर्न माग गर्दै दवावस्वरूप उनीहरु हड्तालमा उत्रिएका हुन् ।

युनाइट, जीएमबी र युनीसनका सदस्यहरु हड्तालमा उत्रिएका छन् । इंग्ल्याण्ड र वेल्स्का ११ एम्बुलेन्स सेवामध्ये ८ वटा सेवाका दशौँ हजार कर्मचारीले हड्ताल गरेका छन् ।

एम्बुलेन्स कर्मचारीलगायत पारामेडिक तथा आकस्मिक कल सेन्टरमा कार्यरत दशौँ हजार कर्मचारी हड्तालमा उत्रिएपछि इमर्जेन्सी सेवामा नराम्रो प्रभाव परेको छ । यद्यपि उनीहरुले ज्यान नै जोखिममा रहेकाहरुका लागि भने आफ्नो सेवा सुचारु रहने बताएका छन् ।

नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अत्यावश्यक सेवा सुचारु राख्न करिब ८ सय सैनिकलाई परिचालन गरेको छ । इमर्जेन्सी सेवामा पर्न सक्ने चापलाई मध्यनजर गर्दै एनएचएस इंग्ल्याण्डका मेडिकल डाइरेक्टरले अल्कोहल सेवन नगर्न सुझाव दिएका छन्  ।

आफूहरुले नचाहँदा नचाहँदै हड्तालमा उत्रिनुपरेको र यसको जिम्मेवार सरकार रहेको उनीहरुले बताएका छन् । सरकारले आफ्नो मागबारे गहन रुपमा नलिएको उनीहरुको आरोप छ ।

यहां आर्थिक मन्दीका कारण बेलायतीहरुको जनजीवन निकै कष्टपूर्ण बन्दै गएको छ । यतिबेला बेलायतमा बस तथा रेल सेवा, रोयल मेल, बोर्डर फोर्स, एम्बुलेन्स सेवा आदिका कर्मचारीले हडताल गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू