बेक्सली नेपाली समाज र एनआरएनए यूकेको सहकार्यमा ध्यान तथा साधना कक्षा शुभारम्भ
लन्डन। साउथ इष्ट लन्डनको बेक्सली क्षेत्रका नेपालीहरुको लागि १० हप्ते ध्यान तथा साधना कक्षा शुरु भएको छ।
बेक्सली नेपाली समाज यूकेले एनआरएनए यूकेसँगको सहकार्यमा सञ्चालन गरेको कक्षा गत आइतबार शुभारम्भ गरिएको छ।
एक कार्यक्रमबीच एनआरएनए यूकेका अध्यक्ष सुनिलबाबु खड्का र प्रशिक्षक सरिता शर्माले कक्षा उद्घाटन गरेका थिए।
योग र साधनाबाट आत्मालाई शान्त, आनन्द र विकाररहित बनाउन मद्धत गर्ने भएकाले स्वास्थ्यको दृष्टिकोणबाट कार्यक्रम महत्वपूर्ण रहने ठानिएको छ ।
‘योग र ध्यानमार्फत् बेक्स्ली नेपाली समाजलाई जोडौं’ भन्ने नाराको साथ शुरू भएको यो कार्यक्रमले समाजका सबैमा सकारात्मक उर्जा भर्ने समाजको विश्वास छ।
ध्यान तथा साधना कक्षा उद्घाटनका अवसरमा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष खड्काले स्वास्थ्य प्रवर्द्धनका लागि हुन लागेको कार्यक्रममा एनआरएनए यूकेको पूर्ण साथ रहने प्रतिवद्धता गरे।
विशेष समय र परिस्थितिले आफूहरु नेतृत्वमा आएको सुनाउँदै उनले एनआरएनए यूकेलाई बेलायतभरका सबै नेपाली संस्थाको छाता संस्थाका रुपमा अघि बढाउन कोशिश् गर्ने बताए।
कार्यक्रमका अर्का अतिथि एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले बेक्सली नेपाली समाजको ध्यान तथा साधना कक्षामा एनआरएनएले पनि सहकार्यको अवसर पाएकोमा खुशी व्यक्त गरे।
एनआरएनए यूकेले बेलायतका हरेक क्षेत्रका नेपाली समुदायहरुसँग सहकार्य र समन्वय गर्दै संगै अघि बढ्न प्रयास गरिरहेको उनले जानकारी गराए।
बेक्सली नेपाली समाज यूकेका अध्यक्ष आनन्द धरेलले समुदायका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै साधना कक्षा सञ्चालन गरिएको बताए।
एनआरएनए यूकेसंगको सहकार्य हुँदा खुशी लागेको भन्दै उनले आगामी दिनमा अन्य कार्यक्रममा पनि सहकार्य र सहयोग आदान-प्रदान हुँदै जाने आशा व्यक्त गरे ।
समाजका वरिष्ठ उपाध्यक्ष डा हरिश ज्ञवालीले अहिलेको व्यस्त र पैसाकेन्द्रित जमानामा शरीर र आत्मा स्वस्थ हुन जरूरी भएको र त्यो ध्यानबाट मात्र सम्भव भएकोले यो कार्यक्रमको सोच बनाइएको जानकारी दिए।
समाजका अध्यक्ष धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासचिव केदार थपलियाले गरेका थिए। उपाध्यक्ष बिन्दु गुरूङले खादा लगाएर अतिथिहरुको स्वागत गरेकी थिइन्।
कार्यक्रम उद्घाटनपछि करिब ३० जना सहभागीलाई प्रशिक्षक सरिता शर्माले ध्यान, साधनाको प्रशिक्षण गराएकी थिइन्।