स्वीन्डनका नेपाली जेष्ठ नागरिकलाई सिटिजन एड्भाइस ब्यूरोको सेवा
लन्डन । बेलायतको स्वीन्डनमा वसोवास गर्ने नेपाली वृद्धवृद्धालाई सिटिजन एड्भाइस ब्यूरोले हरेक महिना सेवा दिने भएको छ ।
नेपलिज एसोसिएसन अफ वील्सायर यूकेको संयोजनमा हरेक महिनाको अन्तिम शुक्रबार सचेतना कार्यक्रम गर्ने तय भएको हो ।
यस सेवाको पहिलो कार्यक्रम गत शुक्रबार उद्घाटन गरिएको छ । सिटिजन एड्भाइस ब्यूरो, पेन्सन विभाग, नेपाली समाज वील्सायरका अध्यक्ष ज्ञान गुरुङ लगायत पदाधिकारीले सो सेवा उद्घाटन गरे ।
नेपलिज एसोसिएसन अफ वील्सायर यूकेका अध्यक्ष गुरुङले पहिलो जानकारी सभामा सरकारी तथा स्वस्थ्य विभागका कर्मचारीले समाजका जेष्ठ नागरिकहरुलाई विविध विषयमा जानकारी दिएको जनाए ।
सिटिजन एड्भाइस ब्यूरोका अधिकारीले जेष्ठ नागरिकहरुले पाउने सहुलियत, आर्थिक तथा भौतिक सहयोग आदिबारे प्रष्टयाएका थिए ।
त्यसैगरि, डिपार्टमेन्ट अफ वर्क एण्ड पेन्सनका अधिकारीहरुले जेष्ठ नागरिकहरुले पाउने पेन्सन सम्बन्धी जानकारी दिए भने क्यान्सर रिसर्च यूके र डिमेन्सिया यूके नामक संस्थाका पदाधिकारीले पनि अत्यावश्यक जानकारी दिएका थिए ।
एसोसिएसन अध्यक्ष ज्ञान गुरुङले जेष्ठ नागरिकका लागि हरेक महिनाको अन्तिम शुक्रबार जानकारी सभा गरिने जनाए । उनले भाषा समस्याका कारण भोग्नु परिरहेको समस्या यस्तो जानकारी सभाबाट अन्त्य हुने आशा पनि व्यक्त गरे ।
नेपलिज एसोसिएसन अफ वील्सायर यूकेका सदस्यहरुलाई यो व्यवस्था गरिएको हो ।