आइतबार, पुष २८, २०८१
11:39 | १७:२४

मेलम्चीमा सन्त नेता भट्टराईको पूर्णकदको शालिक

रासस डिसेम्बर १८, २०२२

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार काठमाडौँको सुन्दरीजलमा पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिकमा माल्र्यापण गर्दै । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए ।

सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उनको पूर्णकदको सालिक निर्माण गरेको हो ।

शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पुरयाएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनःसुरु भएको उनले बताए ।

अब काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए ।

“राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ”, प्रधानमन्त्रीले भने ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाएको भनी जनप्रतिनिधिले गरेको गुनासो सम्बोधनका लागि आजै निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो ।

वडा नं १ का चारवटा गाउँ निकुञ्जभित्र छ । ती गाउँमा जाने स्थानीयवासी, आफन्तसँग निकुञ्ज कार्यालयले शुल्क लिँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू