इष्टली गोर्खा नेपलिज एसोसिएसनको वार्षिक साधारणसभा
लन्डन । बेलायतको च्यारिटी संस्था इष्टली गोर्खा नेपलिज एसोसिएसनले १७ डिसेम्बर शनिबार वार्षिक साधारणसभा गरेको छ ।
हाइब्रीज फार्म इष्टलीमा एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जाको अध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभाले आउंदो वर्षका लागि विभिन्न कार्यक्रम पारित गरेको छ ।
वार्षिक साधारणसभामा अध्यक्ष पूर्जाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका भावी कार्यक्रमबारे जानकारी दिएका थिए।
एसोसिएसनले आउंदो वर्ष २०२३ मा राजाको राज्यभिषेक समारोहदेखि च्यारिटी र तीज, दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्व मनाउने कार्यक्रम तय गरेको छ ।
एसोसिएसन अध्यक्ष कमल पूर्जाले सबैको साथ सहयोगले आफ्नो पहिलो वर्षको कार्यकाल सफल भएकामा धन्यवाद दिए ।
उनले हाइब्रीज फार्ममा खेती गर्न स्वयंसेवी भूमिका निर्वाह गर्ने सबैप्रति आभार समेत व्यक्त गरे । एसोसिएसनले फार्ममा सिजन अनुसारको तरकारी, फलफुल उत्पादन गरि ‘फुड बैंक’ लाई निशुल्क प्रदान गर्ने गर्छ ।
साधारणसभामा सचिव ग्यारी बरो र कोषाध्यक्ष श्यामप्रसाद पूर्जाले क्रमशः संस्थागत तथा आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले ति प्रतिवेदन पारित गरयो । फार्म अध्यक्ष रमनसिंह थापा र महिला अध्यक्ष म्याक्सिन बरोले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक साधारणसभामा पदाधिकारी तथा सदस्यहरुले आ-आफ्ना सुझाव पेश गरेका थिए । साधारणसभापछि एसोसिएसनले बालबालिकाका लागि क्रिसमस लञ्च आयोजना गरेको थियो ।
कानूनी सल्लाहकार दाहाल सम्मानित
यसैबीच, एसोसिएसनले नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी सम्हालेका संस्थाका कानूनी सल्लाहकार महेशकुमार दाहाललाई बधाइसहित सम्मान गरेको छ । संस्थाका पदाधिकारीले दाहाललाई सम्मानसहित सफल कार्यकालको शुभकामना दिए ।
कानूनवीद दाहालले इष्टली गोर्खा नेपलिज एसोसिएसनमा विभिन्न समयमा आर्थिक सहयोगदेखि वृद्धवृद्धा गोर्खाका राहदानी नवीकरण लगायत अध्यागमन समस्यामा सहयोग गर्दै आएका छन् ।