सडक दुर्घटना बढ्यो, दोषी सबै निकाय
काठमाडौं । गत मङ्सिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए । दुर्घटनामा २२ जना घाइते भए । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि त्यहाँ पुगेर फर्किँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
उक्त दुर्घटनाको कारण खोज्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजकत्वमा गठित छानविन समितिले काम गरिहेको छ । घटनास्थल अवलोकन गर्न पुगेका सुनुवारले गाडी अनियन्त्रित भइ सडक छेउको पहरामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिए पनि छानवीनपछि मात्रै यकिन कारण खुल्ने जानकारी दिए ।
यस्तै मङ्सिर २६ गते जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको जीप मध्यपहाडी सडकखण्डअन्तरगत भिरपाटीमा अनियन्त्रित दुर्घटना भयो । उक्त दुर्घटनामा १२ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा चालकसहित सबै यात्रुले ज्यान गुमाए । दुर्घटना कसरी भएको थियो भनेर जानकारी दिने कोही बाँकी रहेनन् ।
दुर्घटनापछि गृहमन्त्री बालकृष्ण खाणले पहाडी क्षेत्रमा पटकपटक हुने दुर्घटना रोक्नका लागि विशेष ध्यान दिन मातहत निकायलाई निर्देशन दिएका छन् ।
यी दुई दुर्घटना मुलुकका प्रतिनिधि घटना हुन् । साँझ, विहान तथा रातिका समयमा नियमित गुड्ने सवारी साधान नेपालका सडकमा दुर्घटनामा परेका छन् । चाडवाड, मेला, पर्व, भ्रमण र वनभोजका लागि प्रयोग गरिएका सवारीसाधन दुर्घटनामा बढी पर्ने गरेका पाइएका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह सचेतना नपुगेर दुर्घटना भएको नभई लापरबाही तथा यान्त्रिक समस्याका कारण भएको बताउंछन् । “दुर्घटना न्युनिकरणका लागि गृहमन्त्रालयबाट आवश्यक पहल र जिल्लास्तरमा निर्देशन भएको छ, हाल प्राप्त श्रोतसाधनलाई परिचालन गर्ने हो, हामी त्यो गर्दैआएका छौँ”, उनले भने, “ट्राफिक, सडकको अवस्थालगायत बारेमा सबैले ध्यान दिनुपर्छ ।”
सडकको अवस्था धेरै ठाउँमा कमजोर पाइन्छ । कतिपय दुर्घटना यान्त्रिक समस्याले भएका छन् । गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए ।
स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा दुर्घटना भएको हो । ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।
भौगोलिक अवस्था, चालकको लापरबाही र सवारीसाधनको अवस्था राम्रो नहुँदा दुर्घटना वर्षेनि बढ्दै छन् । गृहसचिव सिंह धेरै दुर्घटनामा चालकको कमजोरी देखिएको बताउंछन् । मदिरा सेवन गरेर तथा लागूऔषध प्रयोग गरी सवारीसाधन चलाउने गरिएको पाइएको छ । अनुगमन गर्ने निकायको कमजोरी छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले धेरैजसो दुर्घटनामा चालकको लापरबाही पाइएको बताए । “सडकको अवस्था र यान्त्रिक गडबढीले पनि दुर्घटना बढिरहेका छन्”, उनले भने ।
प्रहरीको अभिलेखअनुसार गत साउनयता झण्डै १५ हजार सवारीसाधन दुर्घटनामा परेका छन् । सो अवधिमा दुर्घटनामा ९९२ जनाले ज्यान गुमाएका छन् । दुई हजार व्यक्ति भन्दा बढी घाइते भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५