सोमबार, पुष २९, २०८१
23:31 | ०५:१६

बेलायतका नर्सहरुले गरे इतिहासकै ठूलो हड्ताल

नेपाली लिङ्क डिसेम्बर १५, २०२२

प्लेकार्ड बोकेर हड्तालमा उत्रिएका नर्सहरु । तस्बिर एएफपी

लन्डन । ब्रिटेनको नेशनल हेल्थ सर्भिस (एनएचस) मा कार्यरत नर्सहरुले बिहीबार एकसय ६ वर्ष यताकै सबैभन्दा ठूलो हड्ताल गरेका छन् । इङल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डमा कार्यरत हजारौं नर्सले हड्ताल गरेका हुन्।

१९ प्रतिशत तलब वृद्धिको माग गर्दै उनीहरुले १२ घण्टे हड्ताल गर्दा बिहीबार हजारौं विरामी प्रभावित भएका बेलायती अखवारहरुले उल्लेख गरेका छन् ।

यसअघि आरसीएसनले सरकारले प्रस्ताव गरेको वार्षिक १४ सय पाउण्ड ९करिब ४ दशमलव ३ प्रतिशत तलववृद्धि अस्वीकार गरेको थियो ।

नर्सहरुको युनियन ‘रोयल कलेज अफ नर्सिङ’ (आरसीएसन) को आव्हानमा त्यसमा आवद्ध झण्डै एक लाख नर्स हड्तालमा उत्रिंदा अस्पताल सेवा प्रभावित बन्यो ।

केमोथेरापी र डायलसिस गर्नुपर्ने विरामी, गर्भवती महिला, बालबालिका, इन्टेन्सिभ केयर जस्ता अत्यावश्यक सेवाबाहेक अरु विभागमा कार्यरत नर्स हड्तालमा उत्रिएका हुन् ।

आउंदो मंगलबार पनि १२ घण्टे हड्ताल आव्हान गरिएको छ । आफ्ना माग वेवास्ता गरिए आउंदो महिना अझ लामो हड्ताल गर्ने चेतावनी उनीहरुको छ ।

ब्रिटिश स्वास्थ्यमन्त्री स्टिभ बार्कलेले सरकारमाथि अरु कैयौं आर्थिक दबाब परि रहेकाले सरकारले नर्सिङ युनियनहरुले मागे जति तलब वृद्धि गर्न नसक्ने बताएका छन् ।

रोयल कलेज अफ नर्सिङकी अध्यक्ष प्याट कलेनले खाली रहेका हजारौं नर्सिङ पदहरु पुरा गर्न माग गरिन् । ‘नर्स र बिरामीहरुका लागि यो दुखद दिन हो’- उनले भनिन्।

तर, स्कटल्याण्डको राज्य सरकारले नर्सहरुको तलबमा ७५ प्रतिशत वृद्धि गर्न सहमत भए पछि त्यहाँ नर्सहरुले घोषणा गरेको हड्ताल फिर्ता लिएका थिए।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत नर्स हरुको झन्डै ४७ हजार पद रिक्त रहेको बताइएको छ।

नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतमले नर्सहरुलाई कामको चाप ज्यादा तर तलव, सेवासुविधा न्यून भएपछि हड्तालमा उत्रनु स्वभाविक भएको बताइन् । ‘कोभिड महामारीका बेला हामीले ज्यानको वाजी लगाएर काम गरयौं । अन्यत्र सबैतिर ज्याला बढ्यो तर हामीलाई हेरिएन’, गौतमले भनिन् ।

अध्यक्ष गौतमले बेलायतमा कार्यरत नेपाली नर्सहरुको संख्या कम्तीमा दुई हजार रहेको बताइन् ।

उता, लण्डन इलिङ अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्स स्पेसलिस्ट प्रसुना कंडेलको गुनासो पनि समान छ ।

अहिले नर्सहरुले दिनमा १४ घण्टासम्म काम गर्नु परेको यथार्थ सुनाइन् । ‘कामको भारले गर्दा नर्सहरु धेरै विरामी भइरहेका छन् । यो जागिर छाड्ने क्रम पनि बढिरहेको छ’, कंडेलले भनिन्, ‘कम्तीमा तलव चित्तबुझ्दो भइदिए पनि काम गर्ने वातावरण बन्थ्यो । अहिलेको महंगीमा धेरै नर्सहरुलाई बांच्न पनि कठिन भएको अवस्था छ ।’

बेलायत सरकारले हालै नेपाल सरकारसंग नेपाली नर्सहरु एनएचएसमा भर्ती गर्न सम्झौता गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू