प्राध्यापक सुवेदीलाई बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका
लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।
युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्सिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक ठूलो सम्झौता भएको थियो। ‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तरराष्ट्रिय कानूनका प्रबुद्ध विद्वानहरुको मध्यस्थता (आरबीट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो।
त्यही प्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानूनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तरराष्ट्रिय कानूनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो।
यस्तो नियुक्तिले युरोपेली संघ र बेलायतबीचको भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा प्रा सुवेदीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अन्तरराष्ट्रिय कानूनका थुप्रै शीर्षस्थ विद्वानहरु भएको बेलायत जस्तो देशबाट छानिने ६ जनाको नाममा आफ्नो नाम पनि समावेश भएकामा प्राध्यापक सुवेदीले आफू गौरवान्वित भएको बताएका छन् ।