बिहीबार, असोज ३, २०८१
18:39 | २३:२४

गोर्खा वार्ता सकारात्मक बन्दै, तेस्रो चरणमा वेल्फेयर र पेन्सन मुद्दामा छलफल

नेपाली लिङ्क डिसेम्बर १५, २०२२


लन्डन। भूतपूर्व गोर्खाहरुको मुद्दामा बेलायत र नेपालबीच जारी वार्ताअन्तर्गत तेस्रो चरणमा छलफल भएको छ।

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा विहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको वार्तामा सहभागी भूतपूर्व गोर्खा प्रतिनिधि मेजर जुदबहादुर गुरुङले जानकारी दिए।

‘आज दुवै पक्षबीच प्राविधिक स्तरमा वेल्फेयर र पेन्सनका विषयमा महत्वपूर्ण छलफलहरु भएका छन्’- वार्तामा नेपालबाटै भर्चुअल सहभागी मेजर गुरुङले भने, ‘आजको वार्तामा सकारात्मक कुरा भएको छ । वार्ता उपलब्धिपूर्ण हुन्छ भन्ने आशा आजबाट झन् बढेको छ।’ 

वार्ताका क्रममा बेलायती अधिकारीहरुले ‘पोलिसी’ हरुका लागि थप अध्ययन गर्नुपर्ने भएपनि ‘पोलिसी इम्प्लिमेन्टेसन’ का बारेमा रहेका कमजोरीहरु सच्याउन कुनै समस्या नरहेको बताएका थिए। 

वार्तास्थलमा गोर्खा सत्याग्रह समितिका पदाधिकारीहरु

वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले पनि वार्ता सकारात्मक रुपमा अघि बढेको जनाए।

‘वार्ता सकारात्मक भएको छ। पेन्सनको विषयमा निकै गहन र विस्तृत छलफल भएको छ’, नेपालले नेपाली लिंकसँग भने, ‘केही महत्वपूर्ण बुंदाहरुमा बेलायती पक्षले थप अध्ययन गरेर आउँछौं भनेको छ ।’

गोर्खा प्रतिनिधि समेत सहभागी त्रिपक्षीय छलफल दुई सत्रमा गरी जम्मा पाँच घण्टासम्म चलेको थियो । 

वार्तामा बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयअन्तर्गत वेल्फेयर र पेन्सनसम्बन्धि विभागमा कार्यरत अधिकारीहरुको सहभागिता थियो । नेपाल सरकारको प्रतिनिधित्व लन्डन दूतावासका मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए। 

वार्तामा गोर्खाहरुको तर्फबाट पहिलो सत्रमा गेसो उपसभापति धर्म तामाङ र नेसा अध्यक्ष केशबहादुर गुरुङ तथा दोस्रो सत्रमा बिजीडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र दल देवान र मेजर उदयबहादुर गुरुङ ‘एमबिई’ सहभागी थिए भने वार्तामा गोर्खा प्रतिनिधि मेजर जुदबहादुर गुरुङले दुवै छलफलमा ‘भर्चुअल’ माध्यमबाट भाग लिएका थिए। 

बेलायती पक्षले अर्को चरणको छलफल आगामी फेब्रुअरी महिनामा हुन सक्ने संकेत गरेपनि गोर्खाहरुले भने मार्चभित्रै वार्तालाई अन्तिम निष्कर्ष दिनुपर्ने भएकाले अर्को छलफल जनवरीमै राख्न प्रस्ताव गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू