मंगलबार, मंसिर ११, २०८१
19:29 | ०१:१४

चीन र भारतका सैनिक झडप विषयमा भारतलाई अमेरिकी समर्थन

रासस/एएनआई डिसेम्बर १४, २०२२

वासिङ्टन, २८ मङ्सिर–संयुक्त राज्य अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन तथा सिमानाको स्थितिलाई सामान्य तुल्याउने भारतको प्रयासमा आफ्नो समर्थन रहने स्पष्ट गरेको छ ।

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको विषयलाई लिएर अमेरिकी रक्षा मन्त्रालयले सिमानाको स्थितिलाई सामान्य बनाउन भारतीय पक्षबाट हुने प्रयासमा समर्थन रहने बताएको हो ।

भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी) मा चीनले सैनिक उपस्थिति बढाउने तथा सैन्य पूर्वाधार निर्माण गर्नेलगायत त्यहाँ विकसित घटनाक्रमहरूलाई पेन्टागनले नजिकबाट नियालिरहेको मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले बताए । “हामी हाम्रा साझेदारहरूको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतामा अडिग छौँ, त्यहाँको द्वन्द्वपूर्ण अवस्थालाई साम्य पार्न भारतको जारी प्रयासलाई पूर्ण समर्थन गर्छौं,” उनले भने ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो ।

मंगलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा चीनले पनि उक्त क्षेत्रको स्थिति अहिले सामान्य एवम् स्थिर रहेको बताएको थियो ।

मंगलबार नै लोकसभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताएका थिए । साथै उनले उक्त मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र चीनबीचको तनाव कम गर्न आह्वान गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भारत–चीन सीमा क्षेत्रमा तनाव नबढोस् भन्ने सुनिश्चितताका निम्ति सम्बद्ध पक्षसँग महासचिवले आह्वान गरेको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू