अल्डरसटमा भव्य बन्यो ‘सयपत्री सांझ’
लन्डन । सयपत्री नेपाली साँस्कृतिक समूह यूकेले गत ११ डिसेम्बरमा एक सांस्कृतिक कार्यक्रम ‘सयपत्री साँझ’ गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो ।
कार्यक्रम प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र अचार्यले पानसमा बत्ति बालि उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रुपमा सहभागी थिए ।
कार्यक्रम सम्बोधका क्रममा राजदूत आचार्यले सन् २००६ मा स्थापना भएदेखि सयपत्री समूहले नेपाली कला संस्कृतिको संरक्षण सम्बर्धन र यसलाई नयाँ पुस्तामा हस्तान्तरण जस्तो निकै प्रशंसनीय काम गरेको भन्दै नेपाली राजदूतावासलाई पनि विभिन्न इभेन्ट्समा सहयोग गरेकामा धन्यवाद दिए ।
राजदूतले सयपत्रीलाई दूतावासबाट सक्दो सहयोग हुने आश्वासन पनि दिए ।
मन्तब्यका क्रममा सयपत्री नेपाली साँस्कृतिक समूह यूके अध्यक्ष डम्बर सिंहले नेपाली भाषा, कला-संस्कृतिको संरक्षण, सम्बर्धन गर्ने र नयाँ पिंढीमा हस्तान्तरण
गर्ने सयपत्रीको प्रमुख उद्देश्य भएको जनाउंदै सबैलाई खुलेर साथ दिन अनुरोध गरे । अध्यक्ष सिंहले वकिङ्गमा नृत्य कक्षा सञ्चालन भइरहेको र अल्डरसट र अन्य स्थानमा पनि हुने क्रममा रहेको जानकारी दिए ।
औपचारिक कार्यक्रम संस्थाका महासचिव गौरव क्षेत्रीले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रम सयपत्रीका आजीवन सदस्य एवं राष्ट्रिय कलाकार मनसुदन थापा मगर र अर्की राष्ट्रिय कलाकार लोकगायिका रुपा घर्तीमगरबाट भएको थियो । उक्त कार्यक्रम व्यवस्थापन संस्थाका संस्थापक अध्यक्ष एलबी गुरूङ्ग र वर्तमान उपाध्यक्ष दीपक शाहीले गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण डान्सिङ्ग वीथ स्टारका कोरियोग्राफर शेखर घर्ती मगरको बेजोड प्रस्तुति थियो । साथै सयपत्री साँस्कृतिक समूह यूकेका कलाकारबाट नेपालको हिमालदेखि तराईसम्म प्रचलित थारु, तामाङ्ग सेलो, टप्पा जस्ता विविध संस्कृति झल्काउने नृत्य प्रस्तुत भएका थिए ।
साँस्कृतिक कार्यक्रमको कोरियोग्राफी तथा संयोजन शेखर घर्तीमगर र सयपत्रीकी डान्स डाइरेक्टर कविता घर्तीमगरले गरेका थिए ।
४-५ वर्षका बालबालिकादेखि सयपत्रीका स्थापनाकालदेखिका अग्रज कलाकारहरुको प्रस्तुति हेर्दा नेपाली कला संस्कृति सांच्चिकै नयाँ पुस्तामा हस्तान्तरण भइसकेको आभास भएको दर्शक बताउंदै थिए ।
कार्यक्रमको अन्त्यमा राष्ट्रिय कलाकार मनसुदन थापा र रुपा घर्तीमगरको गीतमा दर्शकहरु झुमेर नाचेका थिए ।