सोमबार, पुष २९, २०८१
23:30 | ०५:१५

बेलायतमा आर्थिक मन्दीः हाउजिङ र रेन्टल ट्याक्सका कारण नेपाली पनि मारमा

नेपाली लिङ्क डिसेम्बर ११, २०२२

दुई एक्सपर्ट राजा (बायां) र किरण

लन्डन । आर्थिक मन्दीको संकट झेलिरहेका बेलायतवासीले विभिन्न किसिमको करको पनि सामना गर्नुपर्ने भएको छ ।

विशेषगरी आम्दानीको स्रोत नखुलाइ घरभाडावापत वर्षौंदेखि ट्याक्स नतिर्नेहरुका लागि कर कार्यालयले करको दायराभित्र ल्याउने प्रक्रिया सुरु गरेको ह्याम्प्सायर एकाउन्टेन्टसका प्रबन्ध निर्देशक राजा थापाले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ यूकेले आयोजना गरेको ‘एफएनजे यूके वहस’ कार्यक्रममा बोल्दै उनले भने ‘एचएम रेभिन्यूले रेन्टल ट्याक्स सम्बन्धि कडा नियम लागू गर्दै सबैलाई करको दायराभित्र ल्याउन सुरु गरेको छ, बसेको ठेगानाको आधारमा ट्याक्स भुक्तानी गराउने भएको हुँदा समयमा नै आफूले रेन्टलबाट प्राप्त आम्दानी स्वघोषणा गरेमा महंगो जरिवानाबाट जोगिन सकिन्छ ।

वर्षौंदेखि ट्याक्स नतिरेको भन्दै एचएम रेभिन्यूको पत्र लिएर आफूसमक्ष आउनेको संख्या बढ्दै गएको पनि उनले सुनाए ।

ढिलोचांडो करको दायरामा अवश्य परिन्छ, समयमा नै आम्दानीको स्रोत खुलाइ ट्याक्स तिरेर ठूलो रकमको जरिवानाबाट जोगिन उनले सबैलाई सुझाव दिएका छन् । साथै क्रिप्टो करेन्सीबाट प्राप्त आम्दानीको पनि ट्याक्स तिर्नुपर्ने उनले बताए । थापा विगत डेढ दशकदेखि बेलायतमा एकाउन्टिङ व्यवसायसंग आवद्ध छन् ।

त्यस्तै, आर्थिक मन्दीका कारण बेलायतको हाउजिङ मार्केटमा पनि ठूलो असर परेको बेलायतमा मोर्गेज व्यवसाय संचालन गर्दै आएका वाटरमेलन मोर्गेजेजका डाइरेक्टर किरण गुरुङले बताए । ‘पहिला घर खरिद गर्दा निर्धारित मूल्यभन्दा बढी रकम तिर्ने अवस्था रहेकामा अहिले निर्धारित रकममा घटेर नयाँ घर खरिद गर्न सकिन्छ’ उनले ‘एफएनजे यूके वहस’ मा भने ।

बैंकको ब्याज दर बढेर ५ प्रतिशतभन्दा माथि पुगेको छ, रेसिडेन्टियल मोर्गेज लिन पनि निकै कठिन छ, झन् दोश्रो घर किन्नेहरुका लागि त अहिलेको अवस्था अत्यन्तै दुःखदायी रहेको उनको अनुभव छ ।

ब्याजदर वृद्धि, डिपोजिट रकममा वृद्धि, करको दायरालगायत विविध कारणले गर्दा दुई वा दुईभन्दा बढी घर हुनेलाई बढी मार परेको उनले बताए । पहिलाको तुलनामा परिस्थिति उल्टो भएकाले एकभन्दा बढी हुनेले घर विक्री गर्ने अवस्था आइसकेको उनको भनाइ छ ।

यद्यपि पहिलो घर खरिद गर्न चाहनेका लागि ब्याजदर बढी भएपनि विभिन्न खालका नयाँ स्किमहरु उपलब्ध भएकाले मोर्गेज एड्भाइजरसंग सही सल्लाह लिन सके फाइदाजनक रहेको 
गुरुङले बताए । खरिदकर्ता कम भएको र घर मूल्यमा ह्रास आएकाले आर्थिक स्रोत पर्याप्त हुनेका लागि पहिलो घर लिन अहिले समय उपयुक्त नै रहेको उनले बताए ।

पछिल्लो समय बेलायतमा घर खरिद गर्ने नेपालीहरुको संख्या तीव्र रुपमा बढ्दै गए पनि हाल आएर केहि घटेको छ । घर खरिद प्रक्रियामा आवश्यक पर्ने मोर्गेज एड्भाइजर, एकाउन्टेन्ट, सोलिसिटरलागायतका क्षेत्रमा नेपाली व्यवसायी पनि प्रशस्त मात्रामा छन् । नेपालीहरुलाई घर खरिदका लागि आवश्यक कागजपत्र, आम्दानी स्रोत लगायतका विषयमा उनीहरुबाट प्राप्त सल्लाह र सुझावले निकै सहयोग पुग्ने गरेको छ ।

नेपालबाट पैसा लगेर बेलायतमा घर खरिद गर्न कानूनी रुपमा सहज नहुने उनीहरु बताउंछन् । तर, बाह्य मुलुकबाट बेलायतमा रकम लैजाँदा आवश्यक ट्याक्स तिरेर लान पाउने नियम छ ।

आफ्नो आम्दानीकोस्रोत कम भएर घर किन्न समस्या भएमा ‘गिफ्ट’ को रुपमा आफन्त तथा साथीभाईबाट सहयोग लिन सकिने र यसमा कुनै सीमा निर्धारण नभएको वाटरमेलन मोर्गेजेजका डाइरेक्टर किरण गुरुङले बताए । यसबाट पनि नयाँ घर किन्न केही राहत पुग्ने उनको धारणा छ ।

छलफलको पूरा अंश हेर्नुहोस् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू