मेडस्टोन काउन्सिलर खड्का पुनः चुनावी मैदानमा उत्रिए
लन्डन । बेलायतको मेडस्टोन काउन्सिलका काउन्सिलर दिनेश खड्का पुनः चुनावी मैदानमा उत्रिएका छन् ।
आउंदो ४ मे, २०२३ मा हुने स्थानीय निर्वाचनका लागि उनी लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट दोश्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।
मेडस्टोनस्थित केन्टको काउन्टी टाउन हाइस्ट्रिट वार्डका उम्मेदवार खड्काले पहिलो चार वर्षे कार्यकालमा स्थानीयसंग निकट रहेर काम गरे जुन आफ्नो प्रमुख उपलब्धि भएको उनको ठम्याइ छ ।
‘मैले काउन्सिलरका रुपमा स्थानीय फोहोर संकलन, पार्क र बगैंचा, लिजर तथा हाउजिङ लगायत स्थानीय नीति निर्माण बहसमा धेरैपटक भाग लिएं । स्थानीयसंग नजिक भएर काम गरेका कारणले पनि मेरो दलले मलाई पुनः चुनावी मैदानमा पठाएको मैले ठानेको छु,’ उनले भने ।
स्थानीय समुदायका चासो र समस्या सम्बोधन गर्ने आफ्नो दोश्रो कार्यकालको प्राथमिकता रहेको काउन्सिलर खड्काले बताए । स्थानीय पूर्वाधार, सडक तथा फुटपाथ सुधार, पार्क र खेल मैदान निर्माण आदिमा लाग्ने पनि उनको अठोट छ ।
काउन्टी काउन्सिलर तथा मेडस्टोनस्थित लिबडेम पार्टीका कार्यकारी सदस्य इयान चिट्टनडेनले दिनेश खड्काले स्थानीय समुदायको हितका लागि धेरै परिश्रम गरेको बताए । ‘उनी आफ्नो वडा र वरपर क्षेत्रका लागि राम्रा दूत हुन् । उनी उत्सुक, कडा परिश्रमी, भरपर्दो र स्थनीय जनतामाझ लोकप्रिय छन्’, इयानले भने, ‘खड्काले आफ्नो चुनावी अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेका छन् । स्थानीय लिबडेमले पनि उनलाई साथ दिएको छ ।’
पश्चिम नेपालको दाङमा जन्मिएका खड्का सन् २००१ मा विद्यार्थीका रुपमा बेलायत आएका थिए । खाद्य वैज्ञानिक समेत रहेका खड्का आफ्नो परिवारका साथ विगत २१ वर्षदेखि मेडस्टोनमा बसोबास गर्छन् ।