एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय


ब्यूनसआयर्स, २१ मङ्सिर–अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ ।
उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद धारणमा आजीवन प्रतिबन्ध लगाइएको छ ।
तीन जना न्यायाधीशको इजलासले उनलाई रकम हिनामिनामा दोषी ठहर गरे पनि आपराधिक संगठन सञ्चालनको अभियोगमा सफाइ दिएको छ । उक्त संगठन सञ्चालको अभियोग पुष्टि भएको भए उनलाई थप १२ वर्षको सजाय हुन्थ्यो । पदमा बहाल उपराष्ट्रपति फौजदारी अपराधमा दोषी ठहर भएको यो पहिलो पटक हो ।
अदालतको फैसला अस्वीकार गर्दै उपराष्ट्रपति फर्नान्डेजले आफू ‘न्यायिक माफिया’को शिकार भएको टिप्पणी गरेकी छन् । साथै उनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।
उक्त निर्णयविरुद्धको पुनरावेदनउपर निर्णय नभएसम्म अदालतको फैसला कार्यान्वयन हुनेछैन भने उनलाई प्रशासनले पक्राउ पनि गर्न पाउने छैन ।
अदालतको फैसला सार्वजनिक हुनेवित्तिकै उपराष्ट्रपति फर्नान्डेजका समर्थकले राष्ट्रव्यापी हडताल गर्ने चेतावनी दिएका छन् ।
मंगलबार उनीहरूले ब्यूनस आयर्सको सहरी क्षेत्र बन्द गरे भने प्रहरीले खडा गरेका अवरोधका बार हटाउँदै संघीय अदालत भवन अगाडि नाराबाजी गरेका छन् ।
सन् २००७ देखि २०१५ सम्म राष्ट्रपतिका रूपमा देशलाई नेतृत्व प्रदान गरेकी ६९ वर्षीय फर्नान्डेजमाथि आफ्नो परिवारसँग नजिक रहेका निर्माण व्यवसायीलाई अनुचित ढंगले सार्वजनिक कामको ठेक्का दिएको आरोप लगाइएको थियो । अदालतको यो फैसलाले दक्षिणअमेरिकी राष्ट्रमा राजनीतिक विभाजन एवम् रक्तपात निम्त्याउने जोखिम बढाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५