सरकार विरोधी प्रदर्शनमा इरानमा चार सय बढी मारिए



इरानमा केही साता यता सरकारविरोधी प्रदर्शन चर्किएको छ । तस्बिर- एएफपी
तेहरान, १४ मङ्सिर- २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् ।
विरोधप्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ । नर्वेको इरान मावनअधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन् । १८ वर्ष मुनिका नौ जना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।
समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्षाकर्मीले १६ जनालाई मारेको थियो । मारिएकामध्ये १२ जना कुर्दिस जनसङ्ख्या अधिक भएको इलाकाका हुन् । ती इलाकामा अहिले पनि हिंसात्मक प्रदर्शन जारी छन् ।
दोहोरो झडपमा मारिएका नागरिकको सङ्ख्या मात्र प्रतिवेदनमा समावेश गरिएको तथा त्यसमा सुरक्षाकर्मीको हताहती समावेश गरिएको छैन ।
इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सका ब्रिगेडियर जनरल अमीराली हज्जिजादेहले विरोधप्रदर्शनका क्रममा तीन सय जना मारिएका बताएका छन् । सरकारीस्तरमा पहिलोपटक हताहतीको विवरण सार्वजनिक भएको पनि अरब न्युजले जनाएको छ ।
उपयुक्त ढङ्गले टाउको नछोपेको अभियोगमा गत भदौ ३१ गते पक्राउ परेकी अमिनीको केही दिनपछि हिरासतमा मृत्यु भएको थियो । उनको हिरासतमा मृत्यु भएको खबर सार्वजनिक भएपछि इरानमा विरोधप्रदर्शन भड्किएको छ ।
धार्मिक प्रहरीले उनलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीले लगाएका छन् । यद्यपि इरान सरकारले त्यसको खण्डन गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५