वैदेशिक रोजगारीका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय, आचार्यले गरे स्वागत


काठमाडौँ । नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।
यससँगै दशकौँदेखि आफूहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनु पर्ने आवाज उठाउँदै आएका खाडीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन भएको छ ।
पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव तथा कोषको सञ्चालक समिति अध्यक्षसमेत रहेका एक नारायण अर्यालले सो जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०७९–८० को बजेटमासमेत निजी तथा अनौपचारिक क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनामा क्रमशः आबद्ध गरिने उल्लेख गरिएको थियो ।
‘स्वरोजगार, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारमा काम गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सञ्चालक समितिको बैठकले निर्णय गरिसकेको छ’ सचिव अर्यालले भने ।
श्रमिकहरूका लागि धेरै सुविधाहरू रहेको उल्लेख गर्दै उनले एउटा घरमा काम गर्ने मजदुर अधिकार सम्पन्न भएको बताए । ४६ लाख नेपाली वैदेशिक रोजगारमा रहेको अवस्थामा सम्पूर्ण नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन प्रतिबद्ध रहेको सचिव अर्यालको भनाई छ ।
सचिव अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा स्वदेश तथा विदेशमा काम गर्ने श्रमिकका परिवारहरूलाई स–साना उद्योग व्यवसाय सञ्चालन गर्नका लागिसमेत सामाजिक सुरक्षा कोषले सहयोग गर्ने योजना बनाएकोसमेत जानकारी दिए ।
सामाजिक सुरक्षा कोषले पेन्सन दिने कुरा सुन्दा कतिपयलाई पत्यार नलागे पनि कार्यविधिमा नै उल्लेख गरिसकेकोले योगदानकर्तालाई पेन्सन दिनेसमेत उनले जानकारी गराए ।
‘योगदानकर्ता मात्रै होइन, योगदानकर्ताको श्रीमतीलाईसमेत सुविधा दिन्छौँ’ उनले भने ‘त्यसपछि बिस्तारै परिवारका सबै सदस्यलाई दिने गरी अघि बढ्ने योजनामा छौँ ।’
‘मजदुर मात्रै होइन, रोजगारदातालाई पनि समेट्ने कोष भनेको सामाजिक सुरक्षा कोष नै हो’ उनले भने, ‘सामाजिक सुरक्षा कोषले अघि सारेका योजनाहरूमा सबैको हातेमालो भयो भने यो साकार हुन धेरै समय लाग्ने छैन ।’
आचार्यले गरे स्वागत
यसैबीच गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले उक्त निर्णय गरेकोमा नेपाल सरकार लगायत सम्बन्धित सबैलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन्।
‘गत मार्च महिनामा संघको नयाँ कार्यसमिति गठन भए लगत्तै हामीले वैदेशिक रोजगारमा रहनुभएका लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरुको हित सुरक्षित गर्न अथक प्रयास गरेका थियौं। पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले गरेको यो निर्णयको हामी स्वागत तथा सह्राहना गर्दछौं। यसको कार्यान्वयनमा गैरआवासीय नेपाली संघको पूर्ण सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु’, आचार्यले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५