सोमबार, पुष २९, २०८१
19:11 | ००:५६

देशभर शान्तिपूर्ण निर्वाचन जारी, १२:४५ सम्म ३२ प्रतिशत मतदान

नेपाली लिङ्क नोभेम्बर २०, २०२२

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने काडाँघारीको गान्धी आर्दश उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि उत्साहित मतदाताहरु लाइनमा । तस्बिर- किरणराज विष्ट, रासस

काठमाडौं । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए ।

बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेका थिए ।

मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नेछन् ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा मतदान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गरेका छन् ।

उनले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गरेका थिए ।

नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी भएका थिए ।

विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री देउवा अहिले सातौं पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा मतदान गर्दै १०७ वर्षीय जसमनी कामी । तस्बिरः सन्तोष गौतम, रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू