जी–२० शिखर सम्मेलन समापन, विश्वव्यापी आर्थिक चुनौती सामनाका लागि प्रतिवद्ध



तस्विर एपी
बाली, इन्डोनेसिया, ३० कात्तिक–जी–२० समूहको १७औँ शिखर सम्मेलनले विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोरयाएको छ ।
दुई दिने शिखर सम्मेलनको अन्त्यमा पारित घोषणापत्रमा जी–ट्वन्टी समूहका नेताहरूले विश्वव्यापी आर्थिक पुनरुत्थान, विश्वव्यापी चुनौतीहरूको सामना गर्न र सवल, दिगो, सन्तुलित र समावेशी विकासको जग बसाल्न सहयोग आवश्यक रहेको बताएका छन् ।
समूहले विकासशील देशहरू, विशेष गरी कम विकसित र साना टापु विकासशील देशहरूलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।
नेताहरूले रोजगारी र वृद्धि प्रदान गर्ने सुदृढ, समावेशी र लचिलो विश्वव्यापी पुनरुत्थान र दिगो विकास हासिल गर्न समन्वय गर्ने बताएका छन् ।
यसैबीच, समूह २० का नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० को सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।
समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार शिखर बैठक समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका हुन् ।
जी २० को अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै मोदीले अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गर्दै । तस्विर- एएफपी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५