भूतपूर्व गोर्खा मुद्दामा दोस्रो चरणको वार्ता एक साता पछाडि धकेलियो
लन्डन—भूतपूर्व गोर्खा मुद्दामा दोस्रो चरणको बेलायत–नेपाल सरकारस्तरीय वार्ता मिति परिवर्तन भएको छ ।
यसअघि नोभेम्बर २१ सोमबार गर्ने भनिएको वार्ता ३० नोभेम्बरका लागि सरेको गोर्खाहरुको तर्फबाट वार्ता प्रतिनिधि तथा प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङले जानकारी दिए ।
लन्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले वार्ता मिति सरेको जानकारी दिएको जनाउंदै गुरुङले कारण भने खुलाएनन् । वार्ता दिउसो २ देखि ३.३० बजेसम्म हुनेछ तर स्थान तय भइसकेको छैन् ।
भूतपूर्व गोर्खा समेतको सहभागितामा नोभेम्बर ३ तारिख शुरु भएको त्रिपक्षीय वार्ताको दोस्रो चरणमा वार्तामा प्राविधिक स्तरमा छलफल हुने जनाइएको छ । आसन्न वार्तामा दुवै पक्षबाट मन्त्री वा राजदूतबिना कर्मचारी स्तरमा मुद्दामाथि विस्तृत छलफल गरिने भएको हो ।
पहिलो वार्तामा नेपाल सरकारको नेतृत्व गरेका राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहबारे आफ्नो अवधारणा राखेका थिए ।
बेलायतको तर्फबाट रक्षा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रु मरिसन सहभागी भएपनि पहिलो वार्तामा बेलायती मन्त्रीले ठोस् निर्णय लिन सकेका थिएनन् ।