लन्डन वुल्वीचमा नेपाली शैलीको गोर्खा चौतारा निर्माण हुने, च्यारिटी गरी सहयोग जुटाइंदै
लन्डन। साउथ इष्ट लन्डनको वुल्वीचमा गोर्खा चौतारा निर्माण गर्ने प्रोजेक्टको सहयोगार्थ एक च्यारिटी कार्यक्रम हुने भएको छ।
वूल्वीचस्थित ग्यारिजन चर्च परिसरमा निर्माण हुने कमनवेल्थ गोर्खा गार्डेनको लागि कोष जुटाउन यही नोभेम्बर १९ शनिबार साँझ च्यारिटी डिनर गर्न लागिएको हो।
वुल्वीच ब्यारेकको ‘अफिसर्स मेस’ मा साँझ ६ बजे शुरु हुने कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछन्।
कार्यक्रममा ग्रीनवीच बरोका मेयर लियो फ्लेचरसहित बेलायती समुदाय र नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधि गरी १ सय २० जना सहभागी रहनेछन्।
च्यारिटी कार्यक्रमका लागि उपलब्ध सबै सीट बुक भइसकेको प्रोजेक्टका एक फन्ड रेइजिङ कोअर्डिनेटर एवम् च्यारिटी कार्यक्रम संयोजक श्रीचन्द्र गुरुङले जानकारी दिए।
सभ्य र भव्य बनाउने तयारी गरिएको कार्यक्रमका सहभागीहरुलाई ‘सिल्भर सर्भिस’ सहितको तीन कोर्स डिनर सर्भ गरिने उनले जनाए ।
संयोजक गुरुङका अनुसार च्यारिटी साँझमा प्रोजेक्टको अवधारणा र निर्माण योजनाबारे जानकारीमूलक प्रिजेन्टेसन गरिनेछ। साथै, नेपालका हिमाल, पहाड र तराई तीनै भेगका मौलिक संस्कृति झल्काउने कलात्मक प्रस्तुतिहरु पनि देखाइनेछ। त्यसबाहेक बेलायती कलाकारहरुको प्रस्तुति पनि रहनेछ।
साउथ इष्ट रिजनल तमुधिं लन्डन, मगर संघ यूकेको साउथ इष्ट लन्डन शाखालगायत स्थानीय नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताहरु कार्यक्रम सफल पार्न लागि परेका छन्।
वूल्वीचको ग्यारिजन चर्च र त्यस परिसरमा छुट्टा-छुट्टै निर्माण हुने कमनवेल्थ र गोर्खा गार्डेनको सिंगो प्रोजेक्टको अनुमानित लागत ३ लाख ३० हजार पाउन्ड छ।
प्रोजेक्टमा बेलायती राजपरिवारका एक सदस्य ड्युक अफ ग्लस्टर र कोब्रा बियरका संस्थापक करन बिलिमोरिया गरी दुई जना संरक्षक छन्।
गोर्खाली चेलीका रुपमा चिनिने चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा लगायतले पनि यो प्रोजेक्टलाई ‘प्रमोट’ गरेका छन्।
साउथ इष्ट लन्डनका एक वरिष्ठ समाजसेवी एवम् च्यारिटी कार्यक्रम संयोजक श्रीचन्द्र गुरुङले निर्माणाधिन गोर्खा चौतारा स्थानीय नेपाली समुदायको लागि दिर्घकालिन महत्व राख्ने ऐतिहासिक उपलब्धि रहेको बताउंछन्।
‘जुन देशको लागि हामीले दुई सय वर्षदेखि आफ्नो जीवन नै समर्पण गरी सेवा गर्दै आयौं, त्यहि ठाउँमा हाम्रो पहिचान स्थापनाको सवाल छ’, उनले भने, ‘झन्डै २० हजार नेपालीको बसोबास रहेको साउथ इष्ट लन्डनमा नेपाली चौतारा बन्ने कुरा हाम्रो लागि गौरव र प्रतिष्ठा हो ।’
नेपाली शैलीको चौतारा निर्माण गर्ने जिम्मा गोर्खा पल्टनको ‘क्वीन गोर्खा इन्जिनियर्स’ ले लिएको छ। नेपालकै मौलिक चौताराकै झल्को दिलाउने गरी बस्ने र भारी बिसाउने दुई तहसहितको चौतारा बन्ने जनाइएको छ।
नेपाली र भूपू गोर्खा समेतको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लन्डनको बीच क्षेत्रमा बन्ने चौतारा स्थानीय नेपालीहरुबीच जमघट र घुलमिलका लागि उपयुक्त केन्द्र बन्ने आशा गरिएको छ।
प्रोजेक्टमा नेपाली समुदायको तर्फबाट ५० हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए।