शुक्रबार, पुष २६, २०८१
16:17 | २२:०२

एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल युएईसँग पराजित  

रासस नोभेम्बर १४, २०२२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

युएईले दिएको दुई सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमा समेटियो । खेलमा अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका साउदले ५१ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यू खेलाडी हरिशंकर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन जोडेका थिए भने मुहमद वासिमले ४४ रन जोडे ।

त्यसैगरी वृत्य अरभिन्दले ४० रन बनाए भने एलिशन शाराफुले २९ तथा अहमेद राजाले अविजित २७ रन बनाए । आयन हफ्जल खानले २६ रन जोड्दा बसिल हामिदले १४ रन तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए ।

नेपालका गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एक दिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल यही कात्तिक ३० गते हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू