सोमालिया बम विष्फोटमा १०० बढीको मृत्यु, ३०० घाइते



भग्नावशेषमा हिंड्दै सर्वसाधारण । तस्बिर एएफपी
मोगादिसु, १३ कात्तिक –सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेका छन् ।
“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,” उनले भने । यद्यपि प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् ।
सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो ।
शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धूलोको मुस्लो हावामा उडेको देखिएको थियो ।
सन् २०१७ को अक्टोबर १४ मा विस्फोटक पदार्थले भरिएको ट्रकमा विस्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए ।
मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, ‘यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ ।’
“यो ठीक होइन । ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुनेछैन,” उनले इस्लामिक समूह अल–शबाबलाई संकेत गर्दै भने ।
आतंकवादी हमलाको निन्दा
आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी) ले सोमालियाको राजधानीमा भएको घातक आतंकवादी हमलाको निन्दा गरेको छ ।
आतंकवादी हमलाबाट ज्यान गुमाएकाहरूका परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्दै समूहले जघन्य अपराधको कडा शब्दमा निन्दा गरेको छ ।
समूहले सोमालिया सरकार, त्यहाँका जनता र शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
अल–कायदासँग सम्बन्धित अल–शबाब चरमपन्थी समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
सोमालियाका राष्ट्रपति र सुरक्षा अधिकारीलगायत संघीय सदस्य राष्ट्रका नेता अल–शबाबविरुद्ध चलिरहेको आक्रामक कारवाहीबारे छलफल गर्न बैठक गरिरहेका बेला कार बम विस्फोट भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५