युक्रेनको हवाई प्रतिरक्षा पश्चिमा राष्ट्रहरूको ‘उच्च प्राथमिकता’ मा



ब्रसेल्सस्थित बैठकमा पश्चिमा नेताहरु । तस्बिर- एएफपी
ब्रसेल्स, २६ असोज – युक्रेनका पश्चिमी समर्थकहरूले बुधबार कीभलाई थप हवाई सुरक्षा प्रदान गर्ने ‘उच्च प्राथमिकता’ बारे छलफल गरेका छन् ।
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले ब्रसेल्सस्थित नेटो मुख्यालयमा भएको बैठकबाट के आशा गर्नुभएको छ भनी सोधिएको प्रश्नमा तीन शब्दमा भने, “हवाई प्रतिरक्षा प्रणाली ।”
रुसले युक्रेनमा रहेको क्रिमिया प्रायद्वीपको पुलमा बम विष्फोट गराएपछि करिब ५० राष्ट्रको अमेरिकी नेतृत्वको समूहले बुधबार ब्रसेल्सस्थित नेटो मुख्यालयमा हवाई सुरक्षामा केन्द्रित रहेर छलफल गरेको हो ।
नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि कसरी सहयोग बढाउने भन्ने विषयमा छलफल हुने र गत शनिबार पुल विस्फोटपछि यस साता भएको हवाई आक्रमणपछि उच्च प्राथमिकता थप हवाई प्रतिरक्षा हुने बताएका छन् ।
स्टोल्टेनबर्गले भने, “युक्रेनी शहरहरूमा भएको भयानक र अन्धाधुन्ध आक्रमणमा सर्वसाधारणको मृत्यु भएको छ र नागरिकका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएका छन् ।”
“यसले युक्रेनका लागि थप हवाई प्रतिरक्षाको तत्काल आवश्यकतालाई देखाउँछ । मित्रराष्ट्रहरूले हवाई प्रतिरक्षा प्रदान गरेका छन्, तर हामीलाई अझ बढी आवश्यक छ । हामीलाई विभिन्न प्रकारका हवाई प्रतिरक्षाको आवश्यकता छ”, उनले अगाडि भने ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार जी–७ का नेताहरूलाई आफ्नो देशमा ‘एयर शिल्ड’ स्थापना गर्न सहयोग गर्न आह्वान गरेका छन् ।
पश्चिमा मित्रराष्ट्रहरू युक्रेनलाई थप उन्नत प्रणालीहरू कसरी आपूर्ति गर्न सकिन्छ भनेर काम गर्न कोसिस गरिरहेका छन् ।
युक्रेनमा आइरिस–टी (पहिलो मध्यम दूरीको प्रणाली) आइपुगेको छ भने जर्मनीले यसलाई आफ्नै सेनालाई दिनुअघि नै युक्रेन पठाउने निर्णय गरेको छ ।
संयुक्त राज्य अमेरिकाले पनि आफ्नो नासा–एमएस एन्टी–मिसाइल र एन्टी–ड्रोन प्रणाली कीभलाई छिटो वितरण गर्न खोजिरहेको बताएको छ र आगामी हप्ताहरूमा दुईको पहिलो ब्याच हुने अपेक्षा गरिएको छ ।
थप छ वटा युनिटको डेलिभरीमा धेरै समय लाग्न सक्छ किनकि तिनीहरूलाई निर्माण गर्न आवश्यक छ र अमेरिकी स्रोतहरूले वासिङ्टनले यस बीचमा युक्रेनमा शीत युद्धकालीन ‘हक’ प्रणालीहरू प्राप्त गर्ने प्रयास गर्ने सम्भावनालाई हेरिरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५