सोमबार, पुष २९, २०८१
06:07 | ११:५२

एनआरएनए युगाण्डाले विविध कार्यक्रमकासाथ मनायो दशैं

नेपाली लिङ्क अक्टोबर ९, २०२२

युगाण्डा–गैरआवासीय नेपाली संघ युगाण्डाले हिन्दू धर्मावलम्बीहरुको महान पर्व विजय दशमीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विविध कार्यक्रमकासाथ दशैं मनाएको छ ।

युगाण्डाका लागि नेपाली अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा गैरआवासीय नेपाली संघ युगाण्डाले आयोजना गरेको सो कार्यक्रममा नेपालकी लोकप्रिय नायिका तथा कार्यक्रम संचालिका रिमा विश्वकर्मा, भारतीय जिटिभीबाट संचालित ‘सारेगामपा’ लिटिल च्याम्प ‘२०१९’ बाट दोस्रो स्थान हासिल गर्न सफल गायक प्रीतम आचार्य, नेपाल आइडल तेस्रो संस्करणमा 
आठौं स्थानमा पुग्न सफल गायिका रचना रिमालको सहभागिता थियो ।

साथै कोभिड महामारीका बेलामा निकै चर्चित गीत ‘फुलबुट्टे सारी’ को विदेशी संस्करणमा स्वरांकन गरि सम्पूर्ण नेपालीको मन जित्न सफल युगाण्डाकी मोडल, नायिका तथा गायिका दि क्याप्टेन बियोन्से फामेसीलगायतले पनि कार्यक्रममा जोडदार प्रस्तुति दिएकी थिइन्।

अन्तरराष्ट्रिय जगतमा नेपाली संस्कृति प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अफ्रिका, पाकिस्तान र भारतका विभिन्न संगठनका पदाधिकारीहरुलाई एउटै छानामुनी गोलबन्द गरि मनोरञ्जन प्रदान गरिएको सम्भवतः यो नै पहिलो कार्यक्रम हो ।

कार्यक्रममा नेपाली संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले टीका, जमरा ग्रहण, बाल नृत्य तथा विभिन्न सामूहिक नृत्य आयोजना गरिएको थियो । अन्जिला श्रेष्ठ, प्रगती गिरी, बैदेही शर्मा, ईशानी गैरेको बाल नृत्य उत्कृष्ट देखिन्थ्यो ।

अन्य सामूहिक नृत्यमा वर्षा क्षेत्री, तारा गिरी, ममता बम, रन्जता पंगेनी, सुनिता बोगटी, कल्पना अर्याल तथा मुस्काँन अर्यालले आफ्नो प्रस्तुतिदिएर मनोरन्जन दिलाएका थिए ।

त्यसै गरी रमा अर्यालको दुर्गाभाव नृत्यले सबैको मन जित्न सफल भएको थियो । नेपाली राष्ट्रिय स्तरको गायनमा पाइला राखिसकेका स्थानीय कलाकारद्वय तेजेन्द्र विवस र रमेश कंडेलले पनि गाए ।

सो अवसरमा पूर्व अध्यक्ष राजमणी भण्डारीलाई आफ्नो कार्यकाल (२०१७–२०१९) सफलतापूर्वक सम्पन्न गरेकोमा कदर तथा सम्मानपत्र प्रदान गरियो । इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले नेपाली अवैतानिक वाणिज्य दूतावासलाई पठाएको नेपाली झण्डा गायक प्रीतमद्वारा डा. सुधिर रुपारेलियालाई हस्तान्तरण गरिएको थियो  । साथै इटहरी नगरपालिकालाई पनि धन्यबादस्वरूप  गैरआवासीय नेपाली संघ युगाण्डाले मायाको चिनो पठाएको छ ।

संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी युगाण्डाका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. सुधिर रुपारेलिया थिए । डा. रुपारेलिया यस कार्यक्रमका प्रमुख प्रायोजक समेत थिए ।

कार्यक्रममा अध्यक्ष विनोद थापाले स्वागत मन्तव्य दिएका थिए भने डा. सुधिर रुपारेलियाले शुभकामना मन्तव्य दिए । कार्यक्रममा रमा कलेक्सन, एक्युरेट सेक्युरिटी, मेहेफिर क्यासिनो, मेघा इण्डष्ट्री, रिलायन्स सुपरमार्केट, क्रियशन एन्ड प्रिन्ट्स. ईष्ट अफ्रिकन प्याकेजिङ लिमिटेड, युनिमनी तथा श्याम कृष्ण मानन्धरलगायतले प्रायोजन गरेका थिए ।

हिमालयन रेष्टुरेन्ट एण्ड बारले रात्रीभोज तथा कलाकारहरुको विदाइका लागि व्यवस्थापन मिलाएको थियो । तारा गिरी, वर्षा छेत्री, नरेन शर्मा, प्रेम श्रेष्ठ, रमा अर्याल, निकु केसी, सन्जिव शर्मा, धनराज गिरी, तेजेन्द्र विवश, तेज बहादुर खड्का र राजु थापा लगायतले कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू