शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा बढेको अमेरिकी बुझाइ



राष्ट्रपति जो बाइडेन । तस्बिर एपी
न्यूयोर्क, २१ असोज–अमेरिकी राष्ट्रपति जो बाइडेनले शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।
“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र संकटपछि हामीले ‘आणविक युद्ध’ को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्यूयोर्कमा आयोजित डेमोक्रयाटिक पार्टीको आर्थिक संकलन कार्यक्रममा भने ।
युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताए ।
राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत संघले क्यूबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई संकेत गर्दै उनले भने, “क्यूबाको क्षेप्यास्त्र संकटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।”
बाइडेनले अगाडि भने, ‘हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’
पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।
विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।
बाइडेनले भने, ‘हामीले राम्रोसंग चिनेका छौं । पुटिनले सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५