क्याथे प्यासेफिकले तीन वर्षपछि हङकङ–काठमाडौँ उडान पुनः सुरु गर्दै
काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ ।
कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो ।
उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौँ–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुने छ ।”
कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौँ–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ ।
उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको बताइएको छ ।