मंगलबार, माघ १, २०८१
20:04 | ०१:४९

एभरेष्ट इनको फरक शैली, स्याम्पेन र खाना बाँड्दै महारानीप्रति श्रद्धाञ्जली

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२२

लन्डन । बेलायतस्थित प्रतिष्ठित नेपाली रेष्टुरेन्ट एभरेष्ट इनले स्वर्गीय बेलायती महारानीप्रति फरक शैलीमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सोमबार महारानीको अन्त्येष्टिका दिन आफ्ना सबै शाखाहरुको व्यवसाय बन्द राखेको कम्पनीले निशुल्क खाना तथा पेयपदार्थ वितरण गरेको छ ।

एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले महारानीप्रतिको श्रद्धा व्यक्त गर्न आफ्ना रेष्टुरेन्टहरु व्यापारका लागि एक दिन बन्द राखिएको जानकारी दिए ।

‘व्यापार बन्द रहेपनि रेष्टुरेन्टका सबै स्टाफ, उनीहरुका परिवारसहित हामी सबै जम्मा भएर स्थानीयहरुलाई निशुल्क स्याम्पेन र नेपाली खानाको क्यानेपी वितरण गरिएको छ’, भण्डारीले भने, ‘महारानी एलिजावेथले ७० वर्षसम्म यो देशलाई प्रदान गरेको सेवाको कदरस्वरुप हाम्रो तर्फबाट सम्मान दर्शाउने कोशिस गरेका हौं ।’

निर्देशक भण्डारीले शोकको घडीमा महारानीप्रति श्रद्धा व्यक्त गर्न र उनको सफल जीवन सेलिब्रेट गर्न नयाँ सोचको कार्यक्रम गरिएको बताए । लन्डनको ब्लयाकहिथ र केन्टको आसफोर्ड शाखाबाट सय जना भन्दा बढी स्थानीय ग्राहकहरुलाई खाना तथा पेयपदार्थ बाँडिएको उनले सुनाए ।

एभरेष्ट इन ग्रुपले विभिन्न अवसरहरुमा स्थानीय बेलायती समुदायसंगको अन्तरघुलनका लागि यस्तै कार्यक्रम गर्दै आएको छ ।

बेलायतमा नेपाली खानासंगै कला, संस्कृति समेत चिनाउने उद्धेश्यले स्थानीय ग्राहकसमेतलाई निम्त्याएर रेष्टुरेन्टमै तिहार, होली लगायतका नेपाली पर्वहरु मनाउने पनि गरिएको छ।

एभरेष्ट इन ग्रुपका अध्यक्ष पशुपति भण्डारी बेलायतमा नेपाली नेपाली खाना, संस्कृति एवम् नेपालको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानस्वरूप यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रबल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू