मंगलबार, माघ १, २०८१
12:35 | १८:२०

बीसीसी यूकेद्वारा महारानी एलिजावेथप्रति भावपूर्ण श्रद्धाञ्जली

पूर्ण गुरुङ सेप्टेम्बर १९, २०२२

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतकी महारानी एलिजावेथ द्धितीयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । १९ सेप्टेम्बर सोमबार स्वर्गीय महारानीको अन्तिम संस्कार (फ्यूनरल) का दिन बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार श्रद्धाञ्जलीसभा गरि शोक व्यक्त गरिएको हो ।

बीसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जङ र लोपेन नोर्बुले महारानी एलिजावेथ द्धितीयको दिवंगत आत्माको शान्तिका लागि बौद्ध परम्परानुसार मर्मे पाठ, मलम पाठ, छोक पूजा गरेका थिए । त्यस्तै, बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, श्रेद्धय लामा गुरुहरु, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा सचिव शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा सल्लाहकार लालकुमारी गुरुङलगायत आमाहरुले दीप प्रज्ज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


उक्त श्रद्धाञ्जली सभामा बीसीसी यूके अध्यक्ष धर्म तामाङले महारानी एलिजावेथ द्धितीयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफूले संघसंस्थाको सामाजिक अभियन्ताको हैसियतले महारानीसंग २ पटक दरवारमा भेट गर्ने अवसर प्राप्त गरेको बताए ।

उनले प्रत्येक अगष्टमा बकिङहम प्यालेस सर्वसाधारणका लागि खुल्ला हुने बताउँदै सबैलाई भ्रमण गर्न आग्रह गरे । त्यस्तै, उनले उक्त दरवार भ्रमणका लागि गोर्खाज परिवारले निःशुल्क भ्रमण गर्न सकिने समेत जनाए ।

त्यस्तै, बीसीसी यूकेका महासचिव क्याप्टेन देव घलेले औपचारिक कार्यक्रम सञ्चालन गर्दै स्वर्गीय महारानीको जन्म, राज्याभिषेक, ७० वर्षे राज्यकाल साथै बीसीसी यूकेले बेलायतको राजपरिवारप्रति गर्दै आएको श्रद्धा र सम्मानबारे जानकारी दिए ।


स्मरण रहोस्, बीसीसी यूकेको आयोजनामा बेलायतकी महारानी एलिजावेथ द्धितीयको स्वर्गारोहणको सातौं दिन दिवंगत आत्माको चीर शान्तिका लागि धर्म गुरुहरु, भक्तजन तथा शुचचिन्तकहरुले मर्मे र मलम पाठसहित १०८ वटा दीप प्रज्ज्वलन गरेका थिए ।

त्यस्तै, गत शनिबार बीसीसी यूके अध्यक्ष तामाङ, महासचिव क्याप्टेन घले, धर्मगुरु लोपेन नोर्बु, तेमसाङ तामाङ, पदम तामाङलगायत बकिङहम प्यालेस अगाडि गई बीसीसी यूकेको तर्फबाट दिवंगत महारानीको पार्थिव शरीरमा माल्र्यापण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू