सोमबार, पुष २९, २०८१
09:42 | १५:२७

पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सय बढीको मृत्यु

रासस/सिन्ह्वा सेप्टेम्बर १८, २०२२

तस्बिर एएफपी

इस्लामावाद, २ असोज–पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृत्यु भएको जनाइएको छ ।

यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएका र नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ ।

यस मौसमी वर्षा र बाढीकोकारण १२ हजार सात सय ३५ किलोमिटर लामो सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू