बीसीसी यूकेद्वारा डा. धम्मपीयाको विदाई
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निमन्त्रणामा बेलायत आएका अन्तरराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशन (आइबीसी) का महासचिव श्रेद्धय डा. धम्मापीया स्वदेश फर्केका छन् । उनी ९ सेप्टेम्बर हिथ्रो एयरपोर्टबाट आफ्नो घर भारतको त्रिपुरा फर्केका हुन् ।
बीसीसी यूकेले गत ४ सेप्टेम्बरका दिन आयोजना गरेको च्यारिटी डिनर नाइटको प्रमुख आतिथ्य ग्रहण गर्न लण्डन आएका डा. धम्मापीयालाई बीसीसी यूकेले गत बिहिबार ८ सेप्टेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक औपचारिक कार्यक्रम गरी विदाई गरेको हो ।
पहिलो चरणमा स्वागत र दोस्रो चरणमा विदाई गरिएको थियो ।
बीसीसी यूके अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डा. धम्मापीयाले समथा ध्यान (मेडिटेशन) गराउँदै बुद्ध धर्मबारे प्रवचन दिएका थिए । उनलाई बीसीसी यूकेका अध्यक्ष तामाङ र आमा उपाध्यक्ष जगना गुरुङले मायाको चिनोसंगै खादा लगाई विदाई गरे ।
सो अवसरमा बीसीसी यूके अध्यक्ष तामाङले आफ्नो निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिए ।
बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले गुम्बाको स्थापना, गुम्बाले गर्दै आएको विभिन्न कर्मकाण्ड, बौद्ध शिक्षा, योगा, मेडिटेशनलगायतका च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए ।
बीसीसी यूके उपाध्यक्ष हर्क गुरुङको संयोजन एवं संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा बीसीसी यूके संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिईएम, निवर्तमान अध्यक्ष नरेश गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, सल्लाहकार मेजर डमर घले एमबीई, जंगबहादुर गुरुङ, ट्रष्टी मेम्बर्स मेजर कुलबहादुर थापालगायत कार्यसमिति, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति थियो ।
बेलायतको विभिन्न स्थानमा धार्मिक कार्यक्रमहरुमा समेत सहभागी श्रद्धेय डा. धम्मापीयालाई पुरयाउन बीसीसी यूके संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ र धर्मगुरु लोपेन नोर्बु हिथ्रो एयरपोर्ट पुगेका थिए ।