रोजिना आइसीसी भोकेशनल एजुकेशन कमिटीको यूरोप को–चिअर मनोनित
लन्डन । च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा बेलायतकी महिला उद्यमी रोजिना प्रधान राई गैर आवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को यूरोप को–चिअर मनोनित भएकी छन् ।
एनआरएनए उपमहासचिव गणेश केसीको संयोजकत्वमा हालै गठित कमिटीमा रोजिनाले सो जिम्मेवारी पाएकी हुन् ।
मनोनयनपछि उनले एनआरएनए आइसीसीप्रति आभार व्यक्त गर्दै आफ्नो ज्ञान र सीप समस्त नेपाली समुदायलाई खर्चने प्रतिवद्धता व्यक्त गरेकी छन् । एनआरएनएले अहिलेसम्म कयौं सामाजिक र परोपकारी कार्य गरिसकेको अवस्थामा अब स्वास्थ्य, कृषि र अन्य प्राविधिक क्षेत्रमा समेत दक्ष जनशक्ति उत्पादन गर्न सघाउने कमिटीको लक्ष्य रहेको रोजिनाले बताइन् ।
एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूके पूर्व उपाध्यक्ष हुन् । गत वर्ष एनआरएनए यूके अध्यक्षको प्रत्यासी रहेकी रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् ।
गैर आवासीय नेपालीहरुको ‘संगठन दक्षता तथा प्राविधिक शिक्षा उद्यान’ उक्त समितिको पाइलट प्रोजेक्ट छ । उक्त प्रोजेक्ट सातवटै प्रदेशमा विस्तार गर्ने समितिको महत्वकांक्षा छ ।
अहिले झण्डै ४४ लाख नेपाली युवा रोजगारीका लागि विदेशी माटोमा छन् । तथ्यांक अनुसार त्यो जनशक्तिमध्ये दक्ष सीप भएर काम गर्ने जम्मा १ दशमलव ५ प्रतिशत र सेमी स्किल्ड वर्कफोर्स २४ प्रतिशत छ । विदेशमा रहेका झण्डै ७४. ५ प्रतिशत कामदार सीपरहित काममा छन् । दक्षता नहुंदा देशको समृद्धि र आकर्षक रोजगारीको अवसर नहुने भएकाले उच्च दक्ष उत्पादन गर्ने समितिको उद्देश्य रहेको रोजिना बताउंछिन् ।
छिट्टै कन्सेप्ट पेपरसहित प्रोजेक्टको उद्देश्यबारे नेपाल सरकार, सिटिइभिटी (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद), प्रदेश र स्थानीय सरकार एवं एनआरएनएको ८४ देशमा रहेका राष्ट्रिय समितिहरुसंग समन्वय गरि उक्त प्रोजेक्ट शुरु गर्ने समितिको उद्देश्य छ ।