मंगलबार, माघ १, २०८१
12:41 | १८:२६

महारानी एलिजावेथको देहान्तपछि बेलायती मुद्राको भविष्य के होला ?

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२२

लण्डन । महारानी एलिजावेथको निधनसंगै उनको तस्बिर अंकित मुद्रा, छाप, नोट र राहदानीको भविष्य के होला ? नयाँ राजाका रुपमा चार्ल्स चुनिएसंगै के ति सबै बस्तुले कानुनी वैद्दता गुमाउनेछन् ? हरेक बेलायतीका लागि वर्षौंदेखि अभिन्न अंगजस्तै बनेका उल्लेखित विभिन्न बस्तु तथा माध्यममा अंकित महारानीको तस्बिर वा पोट्रेटलाई लिएर अब आमजनधारणा कस्तो बन्ला भन्ने पनि आमचासो छ । तर, महारानीको तस्बिर अंकित मुद्रा तत्कालै हट्ने भने छैन ।

बेलायती मुद्रा प्रकाशन गर्दै आएको कम्पनी द रोयल मिन्टले नयाँ राजा चुनिएसंगै उनको तस्बिर अंकित मुद्रा कस्तो हुने र कहिलेदेखि प्रकाशन गर्नेबारे अहिल्यै केही खुलाइसकेको छैन । 

कम्पनीका अनुसार महारानीको तस्बिर अंकित करिब २९ अर्ब थान मुद्रा बजारमा छन् । ति मुद्रा वर्षौंसम्म बजारमा रहिरहने र नयाँ मुद्रा बजारमा निष्काशन हुन थालेपछि क्रमशः विस्थापित हुँदै जाने बताइएको छ ।

राजगद्दी सम्हालेको ७० वर्ष लामो अवधिमा एलिजावेथका फरक–फरक तस्बिर अंकित गरी ५ पटक मुद्रा छापिएको छ । पछिल्लो पटक उनी ८८ वर्षको हुँदा सन् २०१५ मा नयाँ स्वरुपको मुद्रा बजारमा ल्याइएको थियो । नोटमा भने सन् १९६० बाट मात्रै उनको तस्बिर अंकित हुन थालेको हो । 

पहिलो पटक स्कटिस र नर्दन आइरिस बैंकले एक पाउन्डको नोटमा उनको तस्बिर राखेको थियो । अहिले ८० अर्ब पाउन्ड बराबरका करिब ४ अर्ब ५० करोड थान नोट बजारमा छन् । यी सबै नोट र मुद्राले अहिले नै कानुनी वैद्यता नगुमाउने द बैंक अफ इंग्ल्यान्डले जनाएको छ । यदि परिवर्तन या नयाँ नोटसँग साट्नु पर्ने भएमा बैंकले सूचना जारी गर्नेछ ।

रोयल मिन्ट कम्पनीले सन् २०१८ मा चाल्सको ७० औं जन्मदिनका अवसरमा विशेष मुद्रा प्रकाशन गरेको थियो । धेरैले नयाँ मुद्रा सोही स्वरुपकै हुने आकलन गरिरहेका छन् । उक्त मुद्रामा दायांतर्फ हेरेको चाल्सको तस्बिर अंकित थियो ।

तर, नयाँ राजाको तस्बिर मुद्रामा अंकित गर्दा त्यसको स्वरुप परम्पराअनुसार नै निर्धारण गर्ने प्रचलन छ । बेलायत सरकारले मुद्रा निष्काशनसम्बन्धी निर्णय गरेपछि मात्रै दक्षिण वेल्सको लान्ट्रिसान्टस्थित रोयल मिन्टको कारखानामा चार्ल्सको तस्बिर अंकित मुद्राको छपाइ हुनेछ ।

नयाँ राजा चयन भएसंगै सरकारी छाप र पोस्ट बक्सको स्वरुपसमेत परिवर्तन हुनेछ । तर, कहिलेदेखि भन्ने निक्र्योल भइसकेको छैन । 

बेलायतको सरकारी हुलाकी सेवा दिने निकाय रोयल मेलले पछिल्लो पटक सन् १९६७ मा एलिजावेथको तस्बिर अंकित छाप प्रकाशन गरेको थियो । जुन चिठीपत्र र पार्सलमा अहिलेसम्म पनि प्रयोग हुँदै आएको छ । केही समययता उक्त छापको प्रकाशन बन्द गरेको रोयल मेलले उक्त डिजाइनलाई परिवर्तन गर्ने प्रक्रिया अघि बढाएकै बेला एलिजावेथको निधन भएपछि उक्त प्रक्रिया केही समयका लागि स्थगन हुने भएको छ ।

सरकारी छाप र पोस्ट बक्सका अलावा हाल जारी हुँदै आइरहेको ‘हर म्याजेस्टी’ अंकित सबै बेलायती राहदानीको समेत वैद्यता तत्काल सकिने छैन । अब जारी हुने नयाँ राहदानीमा भने ‘हिज म्याजेस्टी’ उल्लेख हुने जनाइएको छ । इंग्ल्यान्ड र वेल्सका प्रहरीको हेल्मेट प्लेटमा अब एलिजावेथको सट्टा चार्ल्सको तस्बिर अंकित हुनेछ ।

हाल बेलायतको राष्ट्रिगानमा ‘ईश्वरले महारानीको रक्षा गर्नेछन्’ उल्लेख छ । चार्ल्सले आधिकारिक रुपमा राजगद्दी सम्हालेपछि सेन्ट जोसेफ प्यालेसको बालकोनीबाट नयाँ राष्ट्रगान सार्वजनिक गर्नेछन् । जसमा ‘ईश्वरले राजाको रक्षा गर्नेछन्’ उल्लेख हुनेछ । पछिल्लो पटक सन् १९५२ सम्म मात्रै राष्ट्रगानमा उक्त वाक्य समेटिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू