बुधबार, माघ २, २०८१
00:08 | ०५:५३

लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२२

लन्डन- ४७ वर्षीया नेतृ लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्।सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको फाइनल राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्।

पार्टीका झन्डै डेढ लाख सदस्यको प्रत्यक्ष मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भारतीयमूलका नेता सुनाकले ६० हजार ३ सय ९९ मत पाए।

कन्जरभेटिभ पार्टीको नेतामा विजयी ट्रस मंगलबार बेलायती महारानीबाट देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछिन्। उनले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रतिस्थापन गर्नेछिन्।  

बेलायतको ५६ औँ प्रधानमन्त्री ट्रस महिला प्रधानमन्त्रीमा भने मार्गरेट थ्याचर र टेरिसा मेपछिकी तेस्रो हुन्।  

बोरिस जोन्सन नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छन् ट्रस । यसअघि उनी टेरिसा मे र डेभिड क्यामरनका सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसकेकी छन्। सन् २०१० यता उनी सांसद रहंदै आएकी छन्।  

ट्रसका प्रतिवद्धता
ट्रसले आर्थिक संकटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै ‘२०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गरेकी छन् ।

“मैले एक कन्जरर्भेटिभ दलको रूपमा अभियान चलाएँ, र म दलको कम कर र व्यक्तिगत जिम्मेवारीको टोरी मूल्यमान्यताहरूप्रति प्रतिवद्ध भई देशलाई नेतृत्व गर्नेछु,” उनले भनेकी छन् ।

ट्रसले कर कटौती र ऊर्जा संकट सम्बोधन गर्न ‘साहसिक योजना’ को प्रतिज्ञा गर्दै उनले आगामी दिनमा यसको विस्तृत योजना अघि सार्ने बताएकी छन् ।

यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिँदै ट्वीटरमा लेखेका छन्, “मलाई थाहा छ कि उहाँसँग जीवनयापनको लागतको संकटको सामना गर्ने, हाम्रो पार्टीलाई एकताबद्ध गर्ने र हाम्रो देशलाई एकतावद्ध गर्ने र समावेशी बनाउने महान् कार्यलाई जारी राख्ने सही योजना छ ।”

उनले थपे, “अब सबै कन्जरभेटिभहरूले उहाँको शतप्रतिशत समर्थन गर्ने समय आएको छ ।”

को हुन् लिज ट्रस ?

बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी छन्।

विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसंग नजिक ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी थिइन्। पछि उनी कन्जरभेटिभ पार्टीमा सक्रिय भइन्। दुईपटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन्।

उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्र मन्त्रीको रुपमा काम गरिसकेकी छिन् । उनले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन्।

उनी बेलायत युरोपेली संघमै रहनुपर्छ भन्ने पक्षमा थिइन् तर टेरेजा मे प्रधानमन्त्री भएपछि भने उनले युरोपेली संघ छाडेर पनि बेलायतले लाभ लिन सक्ने बताएकी थिइन्।

उनको पुरा नाम मेरी एलिजाबेथ ट्रस हो। उनका श्रीमान ह्यु ओ लियरी एकजना लेखापाल हुन्। उनीहरुका दुई छोरी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू