शनिबार, मंसिर १५, २०८१
06:35 | १२:२०

गठबन्धनले दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने

रासस सेप्टेम्बर ४, २०२२

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुंग्याउने दाबी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने गरी तयारी गरेको जनाइएको छ ।

बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने कार्कीले बताए ।

बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘वीन वीन’ हुनेगरी निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू