नेपाली मेलामा आयोजित नृत्य प्रतियोगितामा तमु समाज यूके प्रथम, एम्बासडर कपमा तेस्रो
लण्डन । तमुधिं एसोसिएसन यूकेले आयोजना गर्ने वृहत नेपाली मेला २०२२ २८ अगस्त आइतबार लण्डनस्थित केमटोन पार्क रेसकोर्समा भव्यताका साथ सम्पन्न भयो।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो नेपाली मेला’ भन्ने नाराका साथ नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुकबाहिर परिचित गराउने, नेपाल पर्यटनको प्रबर्द्धन गर्ने, बेलायतमा रहेको नेपाली समुदयका बिभिन्न संघ संस्था र समाजहरुबीच पारस्परिक सम्बन्धलाई सवल र सुमधुर बनाउने र नेपाली कलाकारहरुको प्रतिभालाई प्रदर्शन र विकास गराउने मुख्य उदेश्य लिई प्रत्येक वर्ष मेला हुँदै आएको छ ।
तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, गैर आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूके संस्थापक अध्यक्ष तथा पूर्ब अध्यक्षहरु र बरिष्ठ उपाध्यक्ष, मेलाका संयोजक हरि गुरुङ लगायत ब्यक्तित्वहरुले संयुक्तरुपमा रिबन काटेर मेला समुदघाटन गरेका थिए।
तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष हरि गुरुङको संयोजकत्वमा महासचिव पर्शुराम गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, नेपाली राजदूतावास पदाधिकारीहरु, नेपालको छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरु, स्थानिय नेपाली काउन्सिलरहरु, नेपालका प्रशिद्ध संचारमाध्यमका बरिष्ठ संचारकर्मी, स्थानिय संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित हजारौं नेपालीको उपस्थिति थियो।
नेपाली मेलामा तीन दर्जन बढी नेपाली संघसंस्थाले विभिन्न नेपाली कला, संस्कार र संस्कृति झल्काउने झाँकी र नृत्यहरु प्रदर्शन गरे ।
उक्त मेलामा नृत्य प्रतियोगितामा तमु समाज यूकेले उत्कृष्ट नृत्य प्रदर्शन गरी पहिलो स्थान ओगट्यो । यसैगरी झाँकी प्रतियोगितामा सिक्लेस पार्चे समाज यूके पहिलो स्थानमा बिजयी भयो । यस बर्षको एम्बासडर कप घान्द्रुक समाज यूकेले जितेर प्रथम पुरस्कारको ट्रफी, नगद ११०० पाउन्ड, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ।
एम्बासडर कपको दोश्रो स्थान सिक्लेस पार्चे समाज यूके र तेश्रो स्थान तमु समाज यूकेले हात पारे । दोश्रो र तेश्रो हुनेलाई क्रमस ७०० पाउन्ड र ५०० पाउन्ड नगद पुरस्कार तथा प्रसंसा पत्र प्रदान गरिएको थियो।
घान्द्रुक समाज यूकेले एनआरएनए कप पनि प्राप्त गरेको छ। मेलामा किरात राई यायोख्या यूकेले झाँकी र नृत्य दुवै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा किराँत याकथुङ चुम्लुङ यूके र चार भन्ज्याङ तमु समाज यूके दुवैले सान्त्वना पुरस्कार प्राप्त गरे ।
नेपाली राजदूतावास लण्डनले प्रायोजन गरेको एम्बासडर कप नेपाली कला, संस्कार, संस्कृति र पहिचानलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्न तमुधिं यूकेले हरेक बर्ष आयोजना गर्ने नेपाली मेलाको अवसरमा संस्कृतिक झांकी र नृत्य प्रस्तुतिको मुल्याङ्कन गरि प्रथम हुने समाज वा संघसंस्थालाई पुरस्कृत गरिन्छ।
यसबर्ष नेपाली मेलाको झाँकी प्रतियोगिताको निर्णायक मण्डलमा बिमला सेने, गोमा राना, प्रमिला लाबुङ राई, पदम गुरुङ र कल्पना राई थिए।
यसैगरी नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा सरु गुरुङ राना, कृष्ण गुरुङ र कविता घर्ती मगर गुरुङ थिए। झाँकी तथा नृत्य प्रतियोगिताको उदघोषकद्वय सूर्य गुरुङ र योगेस गुरुङलाई अन्य महिला उदघोषिकाहरुले सघाएका थिए।
तमु समाज यूकेले नेपाली मेलाको एम्बासडर कपमा भाग लिन अध्यक्ष शिव कुमार गुरुङको संयोजकत्वमा रंगीचंगी झाँकीसहित सहभागी भएको थियो । अयोजकको निर्धारित समय तालिका र निर्देशन अनुसार अन्य दर्जनौ संघ संस्थाहरु झाँकी समूहका साथ पंक्तिबद्द भई उत्साहपूर्वक आफ्नो कला र संस्कृतिको प्रदर्शन गर्न उपस्थित भएका थिए।
तमु समाज यूकेले यस बर्षको मेलामा तमु (गुरुङ) भेष भुषामा सजिएर ठुलो संख्यामा ‘नेपाली मेलामा सहभागी बनौं, हाम्रो कला संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै कौरा नाचसहितको तमु सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।
नेपालको आदिवासी जनजाती समुदायका मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाचहरु मध्ये कौरा नाच एक पर्दछ। कौरा नाच धार्मिक तथा सामाजिक लोकनाच हो।यो नाच नेपालको मध्यपश्चिम अन्चल क्षेत्रका पाल्पा, तनहुँ, लम्जुङ र गोर्खा जिल्लाहरुमा विशेष गरि नाच्ने गरिन्छ।
नेपाली मेलाको प्रमुख अकर्षणमध्ये एक सांस्कृतिक नृत्य प्रतियोगितामा तमु समाज यूकेले सरु गुरुङ रानाको कोरियोग्राफीमा तयार पारिएको नेपाली समुदायमा सदियौ देखि बिभिन्न परिस्थितिले आफ्नो परिवारका सदस्यहरु लाहुरे बनेर विदेश यात्रामा निस्कनु पर्ने र परिवारसंग लामो समय छुट्टिनु पर्ने बियोगान्त परिघट्ना गीत, संगीत र झोरा नृत्यको माध्यमबाट चित्रण तथा प्रदर्शन गराउने जमर्को गरयो ।
तमु समाज यूकेको प्रस्तुति झोरा संस्कृतिक नृत्यले दर्शकहरुलाई अत्यधिक मनोरन्जन दिलाएको थियो । तमु समाज यूकेको नृत्यमा भागलिने कलाकारहरुमा ओसिएन, दिया, प्रज्जु, सुमी, झरिना, निया, जिरिसा, सुजता र गीत तथा संगीतमा भाग लिनेमा सूर्य कुमारी गुरुङ, लिल कुमारी गुरुङ, कुबिन्धर गुरुङ, सुश्री बिजु गुरुङ, अर्जुन कुमार गुरुङ, ज्ञान बहादुर गुरुङ, धरम बल गुरुङ, सुव घले, उदय गुरुङ, खेम बहादुर गुरुङ, सन्तोक गुरुङ, गोपाल गुरुङ, सुवास गुरुङ र प्रज्वाल गुरुङ थिए। सरु गुरुङ रानाको नृत्य कोरियोग्रफीमा संगीत संयोजन तथा निर्देशन कुमार गुरुङले गरेका थिए।
सुवसिं गुरुङ तमुधिं यूकेको अध्यक्ष हुँदा सुरु गरेको नेपाली मेलामा दोस्रो वर्ष तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ नेपाली मेलाको संयोजक भए । उनी संयोजक हुँदासम्म नेपाली मेला फरक ढाँचामा गयो । उनकै परिकल्पना अनुसार बेलायतमा रहेका नेपाली संघसंस्थाहरुको सहभागिताबिना साथै नेपाली दूतावासको उपस्थितिबिना नेपाली मेलाको अस्तित्व त्यति राम्रो नहुने देखेर नेपाली संघसंस्थाहरुबीचमा झांकी साथै लोक नृत्य प्रतियोगिता गर्ने र नेपाली दूतावासबाट कपको अनुरोध गरेर एम्बासडर कप प्रतियोगिता राख्ने सुरूवात भएको थियो।
दूतावासबाटै एम्बासडर कप दिँदा उसले मेलालाई अपनत्व महसुस गर्छ भन्ने सोच चित्र गुरुङमा थियो । आखिर दूतावासकै खर्चमा उक्त कप दिने निर्णय भएपछि अहिलेसम्म नेपाली मेलामा दूतावासको सक्रिय सहभागिता छ । संयोग मान्नुपर्छ, गुरुङ अध्यक्ष भएकै संस्थाले सन् २०११ मा एम्बासडर कप जित्न सफल भएको थियो ।
तमु समाज यूकेले लामो समयको अन्तरालपछि गत बर्षको नेपाली मेलामा झाँकी र नृत्य दुबै ईभेन्टमा प्रसंशनीय सहभागिता जनाए पनि प्रतियोगितामा भाग लिएको थिएन। यस बर्ष झाँकी र नृत्य दुवै प्रतियोगितामा भाग लिई नेपाली मेला २०२२ को नृत्य प्रतियोगितामा प्रथम र एम्बासडर कपमा तेस्रो स्थान हासिल गरेकोमा तमु समाज यूकेका सम्पूर्ण सदस्यहरुलाई ज्यादै हर्षित भएका छन्। र नेपाली कला संस्कृति र नेपाली पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा अझ बढी सकृय र जिम्मेवारीका साथ अगाडि बढ्ने हौसला र प्रेरणा थपेको छ।
हामी नेपाली जुनसुकै कारणबाट बिश्वको जुनसुकै मुलुकमा रहनु परेपनि हामीलाई आफ्नो देश नेपालको असिम माया लाग्छ। नेपाल र नेपाली कला, संस्कृति र पहिचानको संरक्षण र सम्बर्धन गर्नु हामी सबैको साझा दायित्व र कर्तब्य हुन आउँछ।
त्यसैले सम्पूर्ण बेलायतबासी नेपाली समुदायलाई एकताबद्द भई नेपाल र नेपालीको कला, संस्कृति, संस्कार र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा एकआपसमा सहयोग, सहकार्य, सहभागिता र योगदान गरिदिन तमु समाज यूके सबैलाई विनम्रताकासाथ हार्दिक अपिल गर्दछ।
नेपाली मेलामा बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले प्रस्तुत गरेका नेपाली लोक नृत्य, कला र संस्कृतिक झाँकीहरुबाट सिङ्गै नेपाल बेलायतमा देख्न पाएका थिए। नेपाली मेलामा सबैले आ-आफ्नो मौलिक कला, संस्कार र संस्कृति प्रदर्शन गर्ने अवसर प्राप्त गरेको छ। यसै गरि नेपाली मेला सबैले आ-आफ्नो व्यापार व्यवसायको प्रचार प्रसार तथा प्रवर्धन गर्ने थलो बनेको छ।
यस बर्ष नेपाली मेला भर्नेहरुको मनोरन्जनका लागि प्रवेश टिकटको राफल ड्रमा प्रथम पुरस्कार एक तोला सुन सहित अन्य पुरस्कारहरु पनि रखिएको थियो। मेलामा नेपालका चर्चित गायिका तारा सिरिस मगर र गायक दिपक लिम्बुले गाएको नेपाली गीतमा सबैले झुमेर नाचेर भरपुर मनोरन्जन लिएका थिए।
मेलामा विभिन्न नेपाली खानाका परिकारहरु पस्किने थुप्रै भोजनका स्टलहरु, पेय पदार्थ स्टलहरु, सूचना, सेवा तथा सुविधा उपलब्ध गराउने ब्यापारिक र हस्तकलाका स्टलहरुमा सबै पुस्ताले आनन्दसंग खाने, पिउने, खेल्ने र अवलोकन गरी विभिन्न ज्ञानबर्द्धक जानकारीहरु पनि प्राप्त गरेका थिए।
नेपाली कला, संस्कृति र पहिचानको संरक्षण र सम्बर्धन, नेपाल पर्यटन बिकासमा प्रवर्धन गर्नुको अतिरिक्त यो नेपाली मेला बेलायत भरि छरिएर रहेका सबै नेपालीहरुको निम्ति धेरै साथीभाई, ईष्टमित्र र आफन्तजनहरुसंग एउटै थलोमा भेटघाट र मनोरन्जन गर्ने अवसर पनि बनेको थियो।
यसका लागि तमुधिं यूकेलाई हार्दिक बधाइ तथा धन्यबाद दिदै अगामी बर्षहरुमा अझै परिमर्जित र बृहत रुपमा नेपाली मेलाको आयोजना होस् भन्ने शुभकामना पनि ब्यक्त गर्दछु।
शिवशरण गुरुङ, पूर्व अध्यक्ष तमु समाज यूके